म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा रहेको ऐतिहासिक खड्गभवानी कोत मन्दिरको धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि पदमार्ग निर्माण भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा कोतमन्दिर परिसरमा पदमार्गलगायत विभिन्न संरचनाहरु निर्माण गरिएको हो ।

खड्गभवानी कोत मन्दिरसम्म पुग्ने पदमार्ग, मन्दिरको मूल गेट तथा मर्मतसम्भार, प्लाष्टर, पटाङ्गिनी निर्माण र घेराबारलगायत संरचनाहरु निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवस्थापन समिति र स्थानीयवासिन्दाको पहलमा वडा कार्यालय तथा बेनी नगरपालिका र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सहयोगबाट मन्दिरमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण भएका छन् ।

ज्यामरुककोटस्थित फापरखेत कन्थराथानदेखि कोत मन्दिरसम्म ३ सय ७० मिटर लामो पदमार्ग निर्माण गरिएको छ भने भकुण्डेदेखि कोत मन्दिर परिसरसम्म ३ सय १५ मिटरको अर्को पदमार्ग बनाइएको छ । यसैगरी चालु आर्थिक वर्ष २०७८÷०७९ मा थप १ सय ९२ मिटर रेलिङसहितको पदमार्ग पनि निर्माण गरिएको छ । मन्दिरमा पुग्न दुईतर्फ गरेर कुल ४३ लाखको पदमार्ग, सातलाखको मन्दिर घेराबार, साढे दुईलाखको गेट र एकलाख रुपैयाँको पटाङ्गिनी निर्माण गरिएको बेनपा–२, ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिनुभयो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले ज्यामरुककोटको प्रचारप्रसार तथा खड्गभवानी कोत मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पदमार्गलगायत भौतिक संरचनाहरु निर्माण गरिएको जनाइएको छ । त्यस्तै मन्दिर परिसरमा रहेको नेपाल टेलिकम तथा दुरसञ्चारको मोबाइल बिटिएस टावरमा पनि फोरजी सेवा जडान र सञ्चालनका लागि टावरको क्षमता समेत बढाइएको छ । ज्यामरुककोटको खड्गभवानी कोत मन्दिरमा हरेक वर्ष साउनेसङ्क्रान्ति, नागपञ्चमी, बडादसैँ, श्रीपञ्चमी, चैत्राष्टमीलगायत मुख्य चाडपर्वहरुमा विशेष गरी पुजाअर्चना हुँदै आइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

धार्मिक पर्यटनको सम्भावना बोकेको खड्गभवानी कोत मन्दिरको परिसरबाट म्याग्दी जिल्लाको साविकका २१ वटा गाविसहरु देखिन्छन् । यहाँबाट म्याग्दी सदरमुकाम बेनीबजार, म्याग्दी र कालीगण्डकी नदीको बहाव, छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिका, बागलुङको पञ्चकोट तथा धवलागिरि, अन्नपूर्ण, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाहरुको समेत दृश्यहरुको अवलोकन गर्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीबाट हाँडेभीर–लभ्लीहिल हुँदै भकुण्डे र बेनी–रत्नेचौर भएर पनि ज्यामरुककोट तथा खड्गभवानी कोत मन्दिरमा पुग्न सकिन्छ ।

बेनीदेखि नजिकै पैदलयात्रा र सवारीसाधनबाट सजिलै पुग्न सकिने खड्गभवानी कोतमा नेपालमा बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन मल्ल राजाहरुले राज्य गरेका थिए । त्यतिबेला एैतिहासिक पर्वत राज्यअन्तर्गत रहेको ज्यामरुककोट र ताकम राज्यलाई पर्वत राज्यका तत्कालीन राजाले आक्रमण गरी विजय हासिल गरेपछि पर्वत राज्यमा गाभेका थिए । खड्गभवानी कोतमा अझै पनि परापूर्वकालका हातहतियारहरु संरक्षण गरेर राखिएको छ ।

Leave a Reply