बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीको निर्वाचन सुरक्षा रणनीति तयार गरिएको छ । जिल्लामा रहेको ७४ मतदान स्थल र ११४ मतदान केन्द्रमा हुने मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरिएको हो । निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी समेत परिचालन योजना तयार भएको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।

निर्वाचन लक्षित गरेर सुरक्षा रणनीति कार्यान्वय भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए । ‘आर्मी र शसस्त्र प्रहरी निर्वाचन हुने ठाउँ–ठाउँमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसंग पुग्ने तयारी भएको प्रजिअ रानाले जानकारी दिए ।

निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारी रुपमा कर्यान्वयन गरिएको प्रजिअ रानाले भने । निर्वाचन लक्षित गरेर म्यादी प्रहरी ६१९, नेपाल प्रहरी ३८०, सशस्त्र प्रहरी २०६, नेपाली सेना २३२ परिचालन हुने प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिए । उन्का अनुसार, जिल्लामा विर्नाचनका लागि कायम भएका ७४ वटा मतदानस्थलमा मुख्य सुरक्षाको भूमिकामा नेपाल प्रहरी, म्यादी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने छन् ।

मतदान पुर्व, मतदान र मतदानपछिको तीन चरणमा सुरक्षा रणनीति तयार गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदान स्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालन योजना तयार गरिएको प्रनाउ भारतीले बताए । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदान स्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् ।

यसपालीको स्थानीय तह चुनाव बहिस्कार गर्ने समुह छैनन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाको आधारमा मतदान स्थलहरुलाई बर्गिकरण गरिएको छ । चुनाव प्रचार र मौन अवधीमा आचारसंहिता उल्लङ्गन हुँदाको अवस्थालाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ । धवलागिरी गाउँपालिकाको वडा नम्वर १ मा पर्ने गुर्जाको जनकल्याण माविको मतदान केन्द्रमा यातायात सुविधा पुगेको छैन् । रघुगंगा गाउँपालिकाको वडानम्वर ८ ध्याँसीखर्कमा सञ्चार सुविधा छैन् । दुर्गम र विकट ठाउँको मतदानस्थलबाट मतपेटिका गणना स्थलसम्म ढुवानी गर्न सुरक्षा समितिले हेलिकप्टरको प्रस्ताव गरेको छ ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ११४ वटा मतदान केन्द्र छन । ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरी ८५ हजार ३७५ जना मतदाता छन् । २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

Leave a Reply