जन्मदिन मनाउने आ–आफ्नै शैली र तरिका हुन्छन् । कतिपय व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा आफन्तजन, इष्टमित्र तथा साथीभाइलाई बोलाएर भव्य पार्टी समेत दिन्छन् । कतिपयले भने विभिन्न कार्यक्रममार्फत सहयोग गर्ने गरेका छन् । पछिल्लो समय जन्मदिन मनाउने शैली परिवर्तन हुँदै जान थालेको छ । यसैक्रममा म्याग्दीका एक यूवा ब्यवसायीले आफ्नो छोराको जन्मदिनको अवसरमा ६ जना विपन्न, मजदुरको निशुल्क स्वास्थ्य विमा गरिदिनुभएको छ ।

बेनी नगरपालिका–७,शान्तिटोलका कृजन खत्रीको जन्मदिनको अवसरमा कृष्णबहादुर खत्रीले सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रमा रहेका विपन्नलाई उपचारमा सहज हुने गरी २२ हजार ४ सय बराबरको स्वास्थ्य विमा गरिदिनुभएको हो । ६ वटै परिवार भित्रका सबै सदस्यहरूलाई १ बर्षसम्म पुग्ने गरी स्वास्थ्य विमा गरिएको खत्रीले बताउनुभयो । एक परिवारको न्यूनतम ३५ सय र धेरै सन्तान भएको ४ हजार ९ सय सम्म लागेको उहाँको भनाई छ ।

‘उहाँहरूलाई बार्षिक ६ लाख बराबरको खर्च हुने गरी विमा गरिदिएको छु,‘अब परिवारका अन्य सदस्यको जन्मदिनमा समेत यस्तै सहयोग गर्ने सोच बनाएको छु’खत्रीले भन्नुभयो । म्याग्दीमा जन्मदिनको अवसरमा आर्थिक सहयोग तथा अन्य विभिन्न संघसंस्थालाई सहयोग गर्ने गरिएपनि विपन्नको स्वास्थ्य विमा गरेर नयाँ सन्देश प्रभाव भएको स्वास्थ्यका क्षेत्रका जनकारहरु बताउँछन् ।

 

Leave a Reply