म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह चुनावमा नेकपा एमाले र नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २४ हजार ७११ जना मतदाता रहेको बेनी नगरपालिकामा १७ मतदान स्थल र २८ वटा मतदान केन्द्र छन् ।

मेयरमा ६, उपमेयरमा ५, वडा अध्यक्षमा ३१, खुल्ला वडा सदस्यमा ६५, महिला सदस्यमा २७ र दलित महिला सदस्यमा २२ जना उम्मेदवार रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेस र माओवादीले मेयर उपमेयर सहित २, ६, ७, ८ र ९ नम्बर वडामा तालमेल गरेका छन् ।

वडा अध्यक्ष जुन पार्टीका उम्मेदवार छन सदस्यहरु पनि सोही पार्टीको चिन्ह लिएर चुनावमा उत्रिएका छन् । गत चुनावमा तालमेल गरेका एमाले र राप्रपा यसपाली एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । नगर प्रमुखमा एमालेका सुरत केसी, नेपाली कांग्रेसका चिरञ्जिवी शर्मा, राप्रपाकी मिनाकुमारी शर्मा, नेशनल मंगोल अर्गनाइजेशनका नरबहादुर थापामगर, राष्ट्रिय जनमोर्चाका टिकाप्रसाद रानामगर र स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीस उम्मेदवार छन् ।

उपप्रमुखमा एमालेकी पशुपति शाही, नेकपा माओवादी केन्द्रका ज्योती लामिछाने पौडेल, राप्रपाका एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमोर्चाका भोमकुमारी कार्की र नेशनल मंगोल अर्गनाइजेशनका विवा आले प्रतिस्पर्धामा छन् ।  नेकपा एमालेका जिल्ला सचिव समेत रहेका मेयरका उम्मेदवार केसी यातायात व्यवसायी, निजी विद्यालय सञ्चालक, रेडक्रसमा आवद्ध छन् । म्याग्दी बहुमुखी क्याम्पसमा करिब बीस वर्ष अध्यापन गरेका कानुन व्वसायी रहेका शर्मा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । नाताले केसी र शर्मा मामा भान्जा हुन् ।

बेनपा ६ निवासी एमालेकी उप्रमुखकी उम्मेदवार शाही अनेमसंघको जिल्ला उपाध्यक्ष हुन् । बेनपा ६ कै स्थायी बासिन्दा माओवादी केन्द्रकी उम्मेदवार पौडेल माओवादीकी प्रदेश कमिटी सदस्य, अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष हुन्। राप्रपाका उम्मेदवार रावल राप्रपाका गण्डकी प्रदेश सदस्य हुन् ।  सवैजसो उम्मेदवारहरुले पूर्वाधार, शिक्षा, स्वास्थ्य, आयआर्जन, पर्यटन, सामाजिक रुपान्तरणका मुद्दालाई प्राथमिकता दिएका छन् ।

गत चुनावमा कांग्रेसका मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले ५६७९ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उम्मेदवारहरुले चार हजार ५५६ मत ल्याएका थिए । एमालेका प्रमोद श्रेष्ठले मेयरमा ५६३४ मत ल्याउँदा वडा अध्यक्षका उम्मेदवारहरुले कुल ५३९३ मत ल्याएका थिए ।

मेयरका स्वतन्त्र उम्मेदवार पृथीप्रसाद पुनले २६६ मत ल्याएका थिए । एमालेसँग तालमेल गरेका राप्रपाका सञ्जु बरुवालले ३९९५ मत ल्याएर बिजयी हुँदा १ नम्बर वडामा राप्रपाका वडा अध्यक्षका उम्मेदवारले २२२ मत ल्याएका थिए । कांग्रेससँग तालमेल गरेका माओवादीका ज्योति लामिछाने पौडेलले उपमेयरमा ३९६१ मत पाउँदा हाल माओवादीमा रहेका स्वतन्त्र उम्मेदवार सहित माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले १७४२ मत ल्याएका थिए । एमालेले आफ्नो बलियो संगठन र लोकप्रिय उम्मेदवारलाई जितको आधार भएको दावी गरेका छन् ।

कांग्रेसले विगतको तुलनामा संगठन सुधारेर एमालेकै हाराहारीमा बनाएको, माओवादीसँग तालमेल गरेको र पाका उम्मेदवार बनाएकाले जित्ने दावी गरेका छन् । माओवादीले पुराना माओवादी घटकहरु एकिकृत भएका, संगठन सुदृढ भएको, उम्मेदवार लोकप्रिय भएका र तालमेललाई जितको आधार मानेको छ । annapurnapost.com

Leave a Reply