स्थानीय तह निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाइने भएको छ । मतदाता नामावलीसँग मिल्ने नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्ने ब्यवस्था मिलाइएको हो ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरूलाई नयाँ मतदाता परिचय पत्र वितरण गरेसँगै मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नागरिकता देखाएर मतदान गर्न पाउने मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो ।‘सकेसम्म मतदाता परिचयपत्र नै लैजानुहोस्,‘ हराएको भए नागरिकता लिएर जानुहोस्’ पौडेलले भन्नुभयो ।

म्याग्दीमा गएको निर्वाचनमा मतदाता परिचयपत्र बनाएकाहरूले हराएको हुनसक्न्ने भएकाले मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाउँदैनन् भन्ने हल्लाका बिच बेनीअनलाइनसँगको कुराकानीमा प्रमुख निर्वाचन अधिकृत पौडेलले नामावलीका भएको नाम र नागरिकताको परिचयपत्रमा नाम मिलेमा मतदान गर्न दिने गरी सबै मतदान अधिकृतलाई निर्देशन दिएको बताउनुभयो ।

हराएका कतिपय मतदाताले मतदान गर्न पाइन्छ कि पाइँदैन भनी दलका उम्मेदवार र केन्द्रमै पुगेर समेत चिन्ता व्यक्त गर्दै आएका थिए । यस्तै नयाँ परिचय पत्र समेत एकाघरका सदस्य बाहेक अन्यलाई दिन नपाइने भएको छ । दलका प्रतिनिधिले परिचयपत्र लिएमा मतदान प्रक्रियामै असर गर्न सक्ने भएकाले सचेत हुन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुरोध निदेशन दिएको छ ।

६ वटा स्थानीय तहका ४५ वडामा ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ । ११४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ सहयोगी कर्मचारी गरी कूल ५६१ छन् । जिल्लामा ९६ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ६१८ म्यादी प्रहरीलाई खटाइएको छ । यसैबीच आफैँ मत हाल्न नसक्ने मतदाताले एकाघरको परिवारको सदस्यलाई मत हाल्ने अनुमति दिइएको छ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा अवस्था हेरेर अनुमति दिइने छ ।

Leave a Reply