बि.स २०२५ सालमा बेनी नगरपालिका–१० पात्लेखेतमा जन्मीनुभएका चिरञ्जीवि शर्माले विद्यार्थीकाल देखि नै जनता र समाजको सेवा संगै राजनितिमा सक्रिय हुनुहुन्छ । २०४३ सालमा नेपाली कांग्रेसको भात्रृ संगठन ने.बि.संघ काडमाण्डौँ सम्र्पक मञ्चबाट राजनीतिमा प्रवेश गर्नुभएका शर्मा नेपाल ल क्याम्पसबाट आइएल र बीएल, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट राजनिति शास्त्रमा स्नातकोत्तर गर्नुभएका शर्माले विगत लामो समय देखि म्याग्दी बहुमुखी क्याम्पसमा अध्यापन गराएको अनुभव रहेको बताउनुभयो ।

२०४६ सालमा गाउँका बालबालिकाको शैक्षिक सुधारका लागि ओखले प्रा.वि स्थापना, धार्मिक रुपमा गाउँको विकास गर्न २०४८ सालमा सुर्यनारायण मन्दिर स्थापना संगै उहाँले ओखले–पात्लेखेत वाखेत, खानेपानी, विद्युत मोटरबाटोका लागि पहल गर्नुभएको थियो विद्युतीकरण मार्फत पात्लेखेतमा विजुली समेत पुर्याउनुभएको थियो । पाँचदलीय गठबन्धनबाट बेनी नगर मेयरका उम्मेदवार बन्नुभएका शर्मासँग बेनीअनलाइनले गरेको कुराकानी ।

बेनी नगरको मेयरमा यहाँको उम्मेदवारी के को लागि हो ?
सर्वप्रथम बेनीअनलाइनलाई धन्यवाद, म लामो समयदेखि राजनीतिक गतिविधिमै केन्द्रित भएर आफ्नो पेशा ब्यवसायमा संलग्न थिए । पारिवारिक पृष्ठभूमि नेपाली कांग्रेससँग जोडिएकाले कांग्रेसका भात्रृ संगठन, पार्टीका विभिन्न जिम्मेबारी सहित महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य समेत भए । जनप्रतिनिधिको हैसियतबाट काम नगरेपनि जिल्लाबासीको सुखःदुखमा साथ दिएको छु ।

कानुन ब्यवसाय बाहेक जिल्लामा समस्यामा परेकालाई विभिन्न माध्यमबाट सहयोग तथा राजनीतिक गतिविधि, परिवर्तनका आन्दोलनमा मेरो सक्रिय भूमिका छ। यसै क्रममा मलाई पार्टीले सर्वसम्मत बेनी नगरपालिकाको मेयरमा उम्मेदवार बनाएपछि चुनावी मैदानमा उत्रिए । नगरक्षेत्रको विकास के, कसरी, कस्तो गर्नुपर्छ भन्ने जानकार पनि भएकोले उम्मेदवार बनेको हुँ ।

यही शुक्रबार हुने निर्वाचनको प्रचारप्रसारको क्रममा आज आफनै गाउँ पात्लेखेतमा पुगेर गाउँका सबैलाई एकै ठाउँमा राखेर आफ्नो प्रतिबद्धता पुरा गर्ने बाचा गदैं आफ्नो चुनावी अभियानलाई औपचारिक रुपमा समापन गरेको छु । चुनावी अभियानको क्रममा मैले १० वटै वडाभित्रका सबै बस्तीमा पुगेर मतदातालाई नगरपालिका कसरी बनाउन सकिन्छ भन्ने योजना सुनाएर आउँदा मलाई दिनुभएको मायाँबाट उत्साहित छु । मेरो उम्मेदवारी स्थानीय रूपमा सवल र सर्वस्वीकार्य छ। मतदाताले पनि मलाई विश्वास गर्नुभएको छ ।

यहाँ नेतृत्वमा आउनुभयो भने नगर साँच्चै नमुना बन्छ भनेर विश्वस्त हुने आधार के छन् ?
मैले अगाडी नै भनिसकेको छु । बेनी नगरपालिका भित्रका हरेक बस्तीका समस्याका बारेमा यसआगडी नै परिचित छु । नगरलाई नमुना बनाउन ठूला र भ्रमपूर्ण सपना नभई बास्तविकतामा आधारित योजनाहरूमार्फत जनताको मन जित्न सकिन्छ भन्ने धेरै अनुभव भएकाले पनि मैले ग्यारेण्टीका साथ नगरबासीको आवश्यकतामा आधारित नगरपालिका बनाउन सक्छु ।

मैले घोषणापत्रमा विपन्न नागरिकलाई कर छुट,आत्मनिर्भर सहितको योजना, कृषि, पशुपालन सहित वडाको माटो सुहाउँदो विकास,कृषकलाई विभिन्न किसिमका कार्यक्रममा सतप्रतिशत अनुदान,निशुल्क स्वास्थ्य विमा, विपन्नलाईरोजगारीको क्षेत्रमा प्राथमिकता लगायतका विषयहरू छन् । बेनी नगरपालिकाभित्र रहेका निजी सेवा प्रदायकलाई जनमैत्री, ८ वटै वडा कार्यलय देखि नगरक्षेत्रमा भएका सवै कार्यलयहरु नागरिकमैत्री बनाउनुपर्ने अवस्था छ ।

मैले जनप्रतिनिधिको भूमिकालाई शासक होइन, सेवक हो भन्ने बनाउन सामाजिक सुरक्षा भत्तालाई वडामै पुगेर वितरण गर्ने वातावरण समेत बनाउने छु । हेनुहोस्, मैले आफ्नो प्रतिष्ठालाई पनि गिर्न दिदैंन र नगरबासीलाई पनि शीर ठाडो पारेर हिड्न सक्ने, आर्थिक, सामाजिक रुपमा आत्मनिर्भर हुन सक्ने बताउने छु । मैले बाहिर बसेर हेर्दा पहुँचका आधारमा योजनाहरु लैजाने गरिएकोमा अव पहुँचमा केन्द्रित नभई आवश्यकतामा आधारित बनाउने छु ।

नेताको आवश्यकता, उनका निकटलाई केन्द्रित गरी नभई स्थानीय तहका बासिन्दाले आवश्यकताका आधारमा योजना तय गरेको हुनुपर्छ । यस्ता थुप्रै योजनाहरू पुरा गर्ने गरी जनताको घरदैलोमा पुगेको छु । बेनी नगरबासी मेरो उम्मेदवारीबाट निकै उत्साहित हुनुहुन्छ ।

कुन वडामा तपाईको के योजना छ त ?
चुनावी सभा तथा घरदैलो अभियानको क्रममा नगरभित्रका १० वटै वडामा पुग्दा मैले मतदाताबाट प्राप्त सुझाव र आवश्यकतालाई समेत बोकेर आएको छु । बेनपा–१ रत्नेचौर धार्मिक तथा पर्यटन, कृषि, वडा नं २ कृषि, पर्यटन, वडा नं ३ भकिम्लीमा सुन्तलाको पकेट क्षेत्र,धार्मिक तथा पर्यटन, वडा नं ४ सिंगामा सुन्तलाको पकेट क्षेत्र, तातोपानी कुण्ड, दुग्ध ब्यवसायको सम्भावना रहेको छ । वडा नं ३ र ४ लाई समेटेर एउटा कोल्डस्टोरको योजनालाई समेत एकबर्ष भित्र पुरा गर्नेछु ।

त्यस्तै बेनपा–५ धार्मिक तथा पर्यटनलाई लक्षित गरी त्यहाँको अन्य सम्भावनालाई समेत पुरा गर्ने, जगन्नाथ, पौलस्य पुलहआश्रम क्षेत्रमा दक्षिण भारत, श्रींलकाबाट समेत पर्यटन आउने गरी साक राष्ट्रस्तरीय सम्मेलन समेत गर्ने, वडा नं ६ मा कृषि र पशुपालनलाई प्राथमिकता दिने, वडाबासीको माग रहेकाले एउटा स्वास्थ्य चौकी समेत भुगोल मिलाएर राख्ने, वडा नं ७ र ८ बेनीबजारमा नदी नियन्त्रण सहित यहाँ घुम्न आउने पर्यटकलाई लक्षित गरी म्यूजिम सहितको योजना, वडा नं ९ कृषि, पशुपालनमा प्राथमिकता दिदैं ढोल्थान दरबारलाई प्राचिनकालको कलात्मक दिने गरी पुननिर्माण गरिने र वडा नं १० मा कृषिसँगै छिमेकी रघुगंगा जोड्ने सडक, पदमार्ग लगायतका योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

सदरमुकाम बेनीका दुई वडा बाहेक ननगरपालिका भित्रका बहुसंख्यक मानिसहरू कृषि पेशामा आश्रित छन् । यस अर्थमा कृषिमा सीप, प्रविधि र लगानी वढाउनु आवश्यक भएपनि वडाभित्रका हरेक एक योजनालाई नमुना र नियमित पाँच बर्षसम्म बजेट विनियोजन गरिने छ । मैले माथि प्रस्तुत गरेका आयोजना र कार्यक्रमहरू सही ढंगले कार्यान्वयन गरेपछिनगर नमुना बन्छ । अर्को कुरा नगरको विकास र बजेटमा भ्रष्टाचार गर्दिनँ ।

नगरमा शिक्षा, स्वास्थ्यको अवस्था कस्तो छ ? तपाईको योजना के छ ?
मैलै प्रतिबद्धता पत्रमा भनिसकेको छु । नगरभित्रका सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सबै दरबन्दी सुन्य रहेका सबै विद्यालयमा दरबन्दी मिलानको काम गर्नेछु । केही विद्यालयमा दरबन्दीको चाप केहीमा समुदायले चन्दा संकलन गरी शिक्षकको ब्यवस्थापन गर्नुपर्ने अवस्थालाई अन्त्य गर्नु मेरो प्रमुख जिम्मेबारीभित्र पर्छ ।

मेरो विचारमा शिक्षालाई गुणस्तरीय र सहज बनाउँदै जानुपर्छ । नगरपालिका भित्रका १० वडामा प्रतिवर्ष कम्तीमा नमुना विद्यालयको भ्रमण, नयाँ सिप सिक्ने तथा उत्कृष्ट शिक्षकलाई नगद सहित प्रोत्साहन गर्नुपर्छ । मैले दरबन्दीको अभावमा तनाव भोग्दै आएका विद्यालयलाई आवश्यक पर्ने दरबन्दी मिलान, अपुग भए नगरकै बजेटमा समावेश गरी शिक्षकको ब्यवस्था मिलाउने छु । अर्को तर्फ प्राविधिक शिक्षालाई समेत मेरो प्राथमिकता हुने छ ।

स्वास्थ्यतर्फ कुरा गर्नुपर्दा, निशुल्क स्वास्थ्य विमा, विपन्नलाई थप स्वास्थ्य सेवाका लागि कोष, जटिल रोगका बिरामीलाई नियमित उपचारका लागि कोष खडा गर्नेछु । ज्येष्ठ, अपाङ र लक्षित समुदायलाई तीन महिनामा एकपटक गाउँघरमै पुगेर डक्टर सेवा दिनेछु । कुनैपनि विरामीलाई उपचारमा अभाव हुन नदिने गरी जनताको सेवाका केन्द्रित हुनु मेरो प्राथमिकता भएकाले सेवामैत्री वातावरण बनाउँदै वडाभित्रका सबै स्वास्थ्य चौकीलाई मिनी अस्पतालमा रुपान्तरण गर्नेछु ।

श्रमिकको हितमा तपाईको योजना के छ ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । नगरभित्र रहेका आयस्रोत कमजोर भएका श्रमिकलाई लक्षित गरी श्रम बैंकको स्थापना गरिने छ । नगरभित्रका विकास निर्माण सहित पूर्वाधारका क्षेत्रमा यहाँका यूवाहरुलाई तालिम सञ्चालन गरी सीपमुलक रोजगार प्रदान गरिने छ भने श्रमिकलाई बार्षिक सहयोग प्याकेज सहित विभिन्न सेवासुविधामा उच्च प्राथमिकता दिइने छ । श्रमिकमैत्री नगरको विकास गर्दै सबैलाई श्रमिकहरुको हक हित, कृषि श्रमिकहरुका न्यूनतम ज्याला, सुरक्षा, निर्माण श्रमिकहरूका सवालहरूलाई महत्व दिने, दुर्घटना बीमा अनिवार्य कार्यान्वयन जस्ता विषयलाई मैले हरेक मतदाताको माझमा पुगेर बताइरहेको छु ।

श्रमिकलाई लक्षित गरी बार्षिक योजनाहरुमै ध्यान केन्द्रित गरिने छ । त्यस्तै सामुदायिक वनको श्रोत परिचालन गर्न वन उपभोक्ता समितिहरूसँग साझेदारीमा आर्थिक अवस्था कमजोर भएकालाई अन्त्येष्टीमा आवश्यक पर्ने दाउरा तथा अति समस्यामा परेकालाई कृयाखर्च समेत सहयोग गरिने छ भने सुत्केरी महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत पोषण कार्यक्रमलाई समेत जोड्ने छु । नगरपालिकाले एउटा शिशु जन्मिएदेखि मृत्युवरण गर्दासम्मको अवस्थामा नगरपालिकाले हेर्छ भन्ने सन्देश दिने कार्यक्रमहरुलाई अगाडी बढाइने छ ।

नगरलाई नमुना बनाउन दिगो योजना पनि चाहिन्छ होला ?

पक्कैपनि, नगरपालिका भित्रका हरेक वडाको डिपिआर तयार गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्न नगरमा क्रियाशील रहेका विभिन्न संघ, संस्थाहरू, व्यवसायिक निकायहरू, वौद्धिक व्यक्तित्वहरू, विभिन्न क्षेत्रका विज्ञहरूको त्रैमासिक वैठक बसेर विकासका नयाँ आयामहरु र योजनाका सम्वन्धमा वहस संचालन हुन्छ ।

मैले निर्वाचनमा सहभागी भएका गठबन्धन बाहेकका दलहरुलाई समेत छायाँ समितिका रूपमा मान्यता दिई उनीहरुको सुझावलाई समेत कार्यान्वयन गर्नेछु । नगरपालिकाले धेरै विज्ञहरुको अनुभवलाई कार्यान्वयन गर्ने छ भने सम्भव भएका क्षेत्रमा भ्रमण गएर समेत अनुभव लिई सोही अनुसार काम गर्नेछ ।

बेनीबजारको फोहोर ब्यवस्थापनमा र बस्तीमा रहेका खानेपानी अभाव समाधानमा तपाईको योजना के छ ?
पवित्र कालिगण्डकीमा फोहोर बिर्सजनमा यसअगाडी पनि मैले धेरै दवाव दिएको छु । नगरबासीलाई मेरो अभियानका बारेमा जानकारी नै छ । मैले कालिगण्डकीमा भइरहेको फोहोर बिर्सजनलाई ६ महिनाभित्र नै अन्त्य गर्ने गरी काम गर्नेछु । त्यहाँको फोहोरलाई बस्तीमा असर नगर्ने गरी केही टाढा लैजान सकिन्छ ।

अव्यवस्थित रुपमा सहरीकरणले फोहोरमैला व्यवस्थापनले गलेश्वर जाने सडक नै दुर्गन्धित भएको छ । जहाँ फोहोर बिर्सजन गरिन्छ त्यहा आसपासका क्षेत्रका जनतालाई थप बजेट सहित रोजगारीमा समेत प्राथमिकता दिन सकिने सहित धेरै योजनाहरु बनाउन सकिन्छ ।

अर्कोतर्फ नगरभित्रका वडाहरुमा अझैपनि सहज खानेपानीको ब्यवस्थापन हुन सकेको छैन् । खानेपानीको अभाव भएका बस्तीमा नजिकै रहेको निजी मुललाई समेत खरिद गरी नियमित खानेपानीको स्रोत ब्यवस्थापन गर्न सकिन्छ । वडाभित्रबाट पनि योजना बनाइरहेको अवस्थामा अव अर्को निर्वाचन अगाडी नै हरेक बस्तीमा रहेको खानेपानीको समस्या समाधन हुने गरी मैले जितेमा पुरा गर्नेछु ।

माओवादीसँगको तालमेल बलियो होला त?
माओवादीसँगको तालमेल विगतमा पनि राम्रो थियो अहिले पनि राम्रो छ । हामीले दुईपटक प्रतिनिधिसभा भंग गर्ने पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छौ । संविधानको विपरित रहेको नेकपा एमालेको गैरकानुनी कदम बिरुद्धको गठबन्धन भएकाले हाम्रो उम्मेदवारी र सक्रियतामा कुनै शंकै छैन । हिजो उम्मेदवारी दिँदाखेरीको असन्तुष्टि र आजको दिनको अवस्थालाई हेर्ने हो भनेपनि छर्लंगै हुन्छ । चुनावी प्रचारमा खटिँदा गठबन्धनका सबै दलका साथीहरुका बीचमा एकताको भाव पैदा भएको छ। संगसंगैको चुनावी प्रचारले अझ घुलमिल हुने वातावरण निर्माण हुन्छ। यसपटक बेनी नगरपालिका सहित गठबन्धन भएका सबै वडामा हामीले सुविधाजनक विजय प्राप्त गर्नेछौ ।

यसर्थ चुनावमा गठबन्धनका बीचमा अविश्वास नै छैन । बजारमा अविश्वासको हल्ला फिजाएर मत तान्ने प्रयास गर्नेहरुले दिउँसै सपना देखेका छन् । यो गठबन्धनको यात्रा जिल्ला समन्वय समितिसम्म छ भने आगामी प्रदेश र प्रतिनिधिसभासम्मको यात्रा तय गरेको छ । गठबन्धनको सम्बन्धलाई तोड्न खोज्नेहरुलाई फलामको चिउरा चपाएजस्तै हुन्छ । त्यसैले गठबन्धनको मत अन्त कतै जान्न।

अन्त्यमा, मतदाताहरूलाई के भन्नुहुन्छ ?
आज मेरो औपचारिक रुपमा मतदाता समक्ष पुगेर गरिने सभा सकिएको छ तर पनि शुक्रबार साँझ ५ बजेसम्म पनि मतदाता समक्ष मेरो लागि मत माग्ने छु । मलाई मत दिनुहोस् मैले पाँचबर्ष भित्र सुन्दर बेनी नगर बनाएर मतदाताको मनको गुण तिर्नेछु । नेपाली कांग्रेस र नेकपा माओवादी, एकिकृत समाजवादी सहितको गठबन्धन चुनावी मैदानमा भएकाले संविधानको रक्षा गर्ने दललाई यहाँहरुको अमूल्य मतको अपेक्षा गरेका छौं ।

नगरक्षेत्रको वृहत्तर विकासका लागि अहोरात्र मेहनत गर्ने प्रतिवद्धतासहित तपाईंहरूको बीचमा आएका छौं । सम्पूर्ण बेनी नगरका आमा, बुबा, दाजुभाइहरूलाई एकपटक नगरको विकास र परिवर्तन गर्दै तपाईहरुको सेवा गर्ने मौका दिन अपिल गर्दछु । हामी तपाईहरूको विश्वासको प्रतिकूल हुन दिने छैनौं र नगर तथा नगरवासीको सेवामा अहोरात्र खटिनेछौं गठबन्धन समूहका सवै उम्मेदवारहरूलाई विश्वास गर्नुस्, पारदर्शी र नागरिकप्रति उत्तरदायित्वको खोजी तपाईं–हामी सवैको सरोकार हो । मैले जनताको निस्वार्थ सेवाको लागि नै उम्मेदवारी दिएको हुँ ।

 

Leave a Reply