म्याग्दीको दुर्गम र विकट क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिका–१ गूर्जामा भोट माग्नका लागि उम्मेदवार हेलिकप्टर चढेर पुगेका छन्। नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन र उपाध्यक्षका उम्मेदवार प्रगति कार्की मंगलबार हेलिकप्टरबाट गूर्जा पुगेर फर्किएका हुन्। धवलागिरी गाउँपालिका–७ ताकमबाट एयर फिष्टेलको हेलिकप्टर चढेर अपराहन्न करिब चार बजे गूर्जा पुगेका पुन र कार्कीले त्यहाँ करिब एक घण्टा मतदाता भेटघाट र कोणसभा गरेर फर्किएका स्थानीयबासीले बताएका छन्।

छिमेकी वडा लुलाङबाट पुरै दिन पैदलयात्रा गरेर पुगिने गूर्जामा ताकमबाट हेलिकप्टरले दुई वटा उडान गरेको थियो। गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, नेकपा एमालेका जिल्ला सदस्य इश्वर सुवेदी, एमाले गाउँपालिका कमिटीका उपसचिव विजय घर्ती, नेता दलमान पुन र गूर्जा घर भई हाल पोखरा बस्दै आएका सुवास छन्त्याल गएका थिए।

छन्त्याल र सुवेदी मतदान केन्द्रमा पार्टी प्रतिनिधिका लागि गूर्जामै बसेका छन्। अन्य चार जना ताकम फर्किएका छन्। एमालेका जिल्ला सदस्य सुवेदीले भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्र भएकाले हिँडेर जान सम्भव नभएपछि हेलिकप्टरमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको प्रतिक्रीया दिए।

‘म र सुवास जी एजेन्ट बस्न गूर्जामै छौ,’ उनले भने ‘मतदाता भेटेर अध्यक्ष, उपाध्यक्षका उम्मेदवार फर्किसक्नुभयो। हेलिकप्टर प्रयोग गर्नुपर्ने बाध्यता भयो।’ गूर्जाबाट फर्कदा दुई जना बिरामीलाई पनि हेलिकप्टरमा पठाएको सुवेदीले बताए।

धवलागिरी गाउँपालिकाका निर्वाचन अधिकृत भोलाराज रेग्मीले हेलिकप्टर प्रयोगका लागि कोही पनि उम्मेदवारले अनुमति नलिएका बताए। ‘चुनाव प्रचारमा उम्मेदवारले हेलिकप्टर प्रयोग गर्न पाउने नपाउने भन्ने आचार संहितामा उल्लेख छैन,’ उनले भने ‘उम्मेदवारले पेश गर्ने खर्चको सिमाको विषय हो। उम्मेदवारले हेलिकप्टर प्रयोग गरेको हामीलाई जानकारी छैन्।’

नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमप्रसाद पुनले भने आचारसंहिता उल्लङ्घन विपरित मतदातालाई प्रभावित बनाउन हेलिकप्टर चढेर बाहिरी ब्यक्तिहरु लगिएको र मतदाताले स्वतन्त्र हिसाबले मतदान गर्ने वातावरण बनाउन माग गरेका छन्। यसअघि सोमबार नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा लगायतका नेताहरु बेनीबाट हेलिकप्टर चढेर मालिका गाउँपालिका–२ रुममा भएका चुनावी सभामा गएका थिए। एक वटा मात्र मतदान स्थल र केन्द्र रहेको गूर्जामा ७६४ जना मतदाता छन्।

गूर्जाको वडा अध्यक्ष र दुई जना सदस्य नेकपा माओवादी केन्द्रका, एक जना नेपाली कांग्रेसका र एक जना स्वतन्त्र उम्मेदवार निर्बिरोध भएका छन्। धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन्। सात वटा वडा रहेको धवलागिरीमा एमाले र कांग्रेस–माओवादीको प्रतिस्पर्धा छ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको ३७ वटा पदका लागि ८४ जना उम्मेदवार छन्। १० हजार ९४० जना मतदाता रहेको धवलागिरीमा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन्।

Leave a Reply