म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका–१,गूर्जाको मतपेटिका हेलिकप्टर मार्फत मुना ल्याइने भएको छ । अतिसंवेदनशील सूचिमा राखिएको मतदानस्थलबाट पदैलमार्गबाट गाउँपालिकाको केन्द्र मुनासम्म ल्याउन दिनभरी लाग्ने भएपछि शुक्रबार मतदान सकिएलगत्तै प्रभु हेलिकप्टरबाट मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बेनीअनलाइनलाई बताउनुभयो । ‘हेलिकप्टरबाटै ल्याउने निश्चित भएको छ,‘अनुकुल मौसम भए मतदान नसकिदैं हेलि गूर्जा पुग्छ’ प्रजिअ रानाले भन्नुभयो ।

बर्षाका कारण प्रतिकुल मौसम भए भोलिपल्ट विहानै मतपेटिका ल्याइने छ । एक मतदान केन्द्र रहेको गूर्जामा ७६४ मतदाता रहेका छन् । जिल्लाको नक्सामा लुकेको बस्तीको रूपमा चिनिने समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जामा पैदल यात्राबाट मतपेटिका ल्याउँदा सुरक्षा जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकमार्फत हेलिकप्टरको माग गरिएको थियो ।

गूर्जाको वडा अध्यक्ष र दुई जना सदस्य नेकपा माओवादी केन्द्रका, एक जना नेपाली कांग्रेसका र एक जना स्वतन्त्र उम्मेदवार निर्बिरोध भएका छन्। धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन्। सात वटा वडा रहेको धवलागिरीमा एमाले र कांग्रेस–माओवादीको प्रतिस्पर्धा छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको ३७ वटा पदका लागि ८४ जना उम्मेदवार छन्। १० हजार ९४० जना मतदाता रहेको धवलागिरीमा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन्।

Leave a Reply