म्याग्दीमा स्थानीय तहको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । शुक्रबार विहान निर्धारित समयमा सुरू भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रहेकोमा जिल्लाभरबाट प्राप्त जानकारीमा करिब ६६ प्रतिशत मत खसेको छ । बेनी नगरपालिका सहित पाँच वटै गाउँपालिकामा कुल मतदाताको ५६ हजार ५४३ मत खसेको छ ।

जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना रहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताए । बैदेशिक रोजगार, बाहिरी जिल्लामा बसाईसराई तथा अन्य विभिन्न कारणले कुल मतको ३४ प्रतिशत मत खस्न सकेन ।

उनले भौगोलिक रुपमा विकट क्षेत्र धवलागिरी गाउँपालिका–१ गूर्जाको मतपेटिका शनिबार विहान ५ बजे गाउँबाट ल्याइने छ । जिल्लामा अनुमान गरेभन्दा धेरै मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेले बताए ।

‘अनुमान गरेभन्दा ५–७ प्रतिशत बढी मत खसेको छ’ प्रमुख घिमिरेले भने । निर्वाचन आयोगको निर्वाचन तालिकाअनुसार बिहान ७ बजेदेखि जारी मतदानमा गठबन्धन र एमाले बीचकै विवाद हुँदा बेनपा–६, थाकनपोखरी केन्द्रमा असहज स्थिति देखिएको थियो ।केहीबेर मतदान रोकिएको र पुनः छलफलपछि फेरी मतदान सुरु भएको थियो ।

मतदान प्रक्रियामा सर्वसाधारण, नागरिकहरुले उत्साहपूर्ण तरिकाले सहभागिता जनाएका छन् । जिल्लाको केही मतदास्थलमा वारिसेको नाममा राजनीतिक दलहरुबीच सामान्य विवाद भए पनि निर्वाचन प्रक्रिया भने शान्तिपूर्ण रुपमा चलिरहेको म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए ।सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको हुँदा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया चलिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

म्याग्दीका सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक, गर्भवती महिला, बिरामी तथा किरियापुत्रीलाई मतदान गर्नका लागि प्राथमिकता दिइएको थियो । विगतमा निर्वाचनमा जस्तै कुटपिटजन्य गतिविधि यसपटक निर्वाचन अवधिभर नदेखिएको तथा विवादलाई समाधान गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच बेनी नगरपालिकाको मतपेटिका संकलन गरेपछि शनिबार विहान ८ बजेबाट मात्रै मतगणना हुने जनाइएको छ । त्यस्तै जिल्लाका पाँचवटै गाउँपालिकाको मतदान केन्द्रबाट मतपेटिका गाउँपालिकाको केन्द्रमा लैजाने क्रम रहेको छ । जिल्लाभर शनिबार विहानदेखि सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचनमा ५ सय ६१ जना कर्मचारी र शिक्षक तथा १ हजार ४ सय ४७ जना सुरक्षाको जनशक्ति परिचालन गरिएको छ । म्याग्दी जिल्लामा जम्मा ७४ ओटा मतदानस्थल र १ सय १४ ओटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावमा उठेका छन् ।

 

Leave a Reply