शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आइतवार बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

६ स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ७, नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वडामा जितेको छ ।

धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–१ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजाले ३३२ र वडा नम्बर २ मा सोही पार्टीका ओमप्रकाश फगामीले ३२९ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृत जानुका सुवेदीले बताइन् ।

मालिका गाउँपालिका–१ मा कांग्रेसका टंकप्रसाद पुनले ४६२ मत, वडा नम्बर २ मा एमालेका उदयकुमार बुढाथोकीले ७५१ र वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढाले ३४५ मत ल्याएर विजयी भएका सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिए ।

मालिका–४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

रघुगंगा गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी विजयी भएका छन् । मंगला गाउँपालिका–१ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीका धनबहादुर खाती क्षेत्री विजयी भएका छन् ।

धौलागिरि गाउँपालिका–२ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित भएका छन् । ६ वटै स्थानीय तहको मतगणना जारी छ । बेनीको मेयरमा एमाले, उपमेयरमा माओवादी, मंगला र अन्नपूर्णमा एमाले, मालिका, धौलागिरि र रघुगंगा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

कूल ८५ हजार ३७५ मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको थियो । जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

Leave a Reply