म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा कान्छी गाउँ बिजय भएको छ। प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भुमे पुजाको अवसरमा मंगलबार एकता क्लव दग्नामले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गरिएको थियो ।

प्रतियोगितामा गैरी गाउँसँगको प्रतिस्पर्धामा कान्छी गाउँ बिजय भएको हो । लिंगो जुधाईमा अग्लो कान्छी गाउँको लिंगो अग्लो र स्थीर बसेपछि विजेता घोषित गरिएको क्लवका अध्यक्ष आर्मिन पूर्जाले बताउनुभयो । पूर्जाका अनुसार अग्लो लिंगोलाई विजयीको रुपमा मानिदै आएपनि स्थायी रुपमा उभिएमात्र विजयी हुने बताउदै दुवै बराबरी भएको छ ।

दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेकोे प्रतिस्पर्धामा गैरी गाउँ र कान्छी गाउँले सहभागिता जनाएका थिए । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजासहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराउने गरिन्छ ।

प्राचीनकालदेखि भुमेथानको पुजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगितालाई नयाँ पुस्ताले समेत पुर्खाको कला र संस्कृतिको रुपमा निरन्तरता दिँदै प्रतियोगिताको जर्गेना गर्ने अभियानलाई यसवर्ष पनि निरन्तरता दिएको स्थानीय यूवा मोहन पाईजाले बताउनुभयो ।

दुई गाउँको युवायुवतीहरुमा भावनात्मक एकता र परम्परागत सस्कृतिलाई संरक्षण गर्न यो पर्व मनाउदै आएको छ । स्थानीयले पुख्र्यौली, गीत, पञ्चेबाजाको रमाइलो उत्सवसहित जातीय भेषभूषामा सजिएर भूमे देवताको पूजा गरेपछि दिउँसो देवतालाई खुशी बनाउनका लागि लिङ्गो जुधाउने गरिन्छ । भुमे देवतालाई जती खुसी बनाउन सकिन्छ, त्यती नै प्रकृतिले साथ दिने जनविश्वास अनुसार भुमे पुजा पर्वको अवसरमा स्थानिय दुई गाउँविचमा लिङ्गो जुधाउने प्रतिस्पर्धा हुदै आएको छ।

भुमे पुजाको अवसरमा स्थानियले एकै दिन सामे भुमे, सिद्ध भुमे, देवि, देउराली,भारा, खोला र मण्डलीको पुजाआजा गरेका छन् । वर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोपसहित विनाश नहोस्, स्थानीयको मनोकामना पुरालगायत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरेको जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनले बताउनुभयो । लिङ्गो जुधाई प्रतियोगिताको अवसरमा रघुगंगा गाउँपालिका अन्तरगत छिमेकी वडाबाट समेत अवलोकन गर्न आउने गरेका छन् ।

Leave a Reply