म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित मेयर सुरत केसीले म्याग्दी आक्रमणको क्रममा गोली लागेर प्वालैप्वाल परेको बिजुलीको पोल फिर्ता ल्याउने घोषणा गर्नुभएको छ । बेनीको मेयरमा विजयी केसीले एमालेको विजयउत्सव ¥यालीपछि मङ्गलवार खुलामञ्चमा आयोजित सभामा बोल्दै यस्तो बताउनुभएको हो ।

नवनिर्वाचित मेयर केसीले २०६० साल चैत ७ गते तत्कालीन विद्रोही पक्ष माओवादी र सरकारी पक्ष नेपाली सेना बीचको दोहोरो भीडन्तमा परी गोलीले छियाछिया बनेको पोल हाल काठमाडौंमा रहेकाले नगरपालिकाबाट आवश्यक पहल गरी बेनीमा फिर्ता ल्याइने बताउनुभयो । उहाँले तत्कालीन म्याग्दी आक्रमणको साक्षी बनेको उक्त पोल फिर्ता ल्याएर नयाँ पुस्ता र जिल्ला भित्रने पर्यटकले अवलोकन गर्नेगरी व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

म्याग्दी आक्रमणको झल्को मेटिने स्तम्भको रुपमा रहेको बिजुलीको पोल बेनीमा फिर्ता ल्याएर व्यवस्थापन गर्नसके जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत आगमन बढ्ने मेयर केसीले बताउनुभयो । उहाँले नयाँ युवा पुस्ता तथा विद्यालय तहका बालबालिकाहरुलाई आक्रमणको विषयमा समेत जानकारी दिन सकिने बताउँदै पोलसँगै पर्यटनलक्षित संरचनाहरुको निर्माण गरी युद्ध सङ्ग्रहालय पनि बन्न सक्ने बताउनुभयो । पोललाई बेनीमा र्फिता ल्याएर व्यवस्थापन गर्नसके युद्धमा ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धाञ्जली व्यक्त गर्न सकिन्छ ।

यसअघि पनि उक्त बिजुलीको पोल फिर्ता ल्याउनका लागि जिल्ला समन्वय समितिले आवश्यक पहल गरेको भए पनि त्यो सफल हुन सकेन । पोल फिर्ता ल्याउने सवालमा जिल्लाका सरोकारवाला निकायले विभिन्न समयमा कुरा उठाउनुका साथै आवश्यक प्रयास गर्दा पनि पाँचवर्षे कार्यकालमा बेनी नगरपालिकामा बहाल रहेका जनप्रतिनिधिले वेवास्ता गर्दा पोल फिर्ता आउन नसकेको हो ।

हाल पाटनढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा राखिएको गोली लागेको सो बिजुलीको पोल तत्कालीन समयमा जिल्लामा कसैसँग पनि समन्वय नगरिकनै काठमाडौं पु¥याइएको थियो । उक्त पोललाई मानवअधिकारकर्मी समेत रहनुभएका कनकमणि दिक्षितले तत्कालीन विद्युत प्राधिकरणका कर्मचारीहरुसँगको मिलेमतोमा रातारात काठमाडौं पु¥याएको आरोप लाग्ने गरेको छ ।

Leave a Reply