राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स जान लागेको अरुणाले बताएकी छिन् । नेदरल्यान्ड भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । उनी जाने मिति भने तय हुन बाँकी छ ।

पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल भलिबल संघ निकट रहेर काम गर्दै आएका छन् ।

अरुणाले पहिलो पटक औपचारिक रुपमा वैदेशिक प्रशिक्षण लिन लागेको बताइन् । उनले त्यहाँ ३५ दिन सेटरको प्रशिक्षण लिने छिन् । ‘यहाँ गुरुहरुले जति सिकाउनु भएको त्यसकै आधारमा खेल्दै आएकी छु,’ उनले भनिन्,‘ सेटरकै लागि प्रशिक्षण गर्ने अवसर मिलेको छ । यसले खुसीसँगै उत्साहित पनि छु । राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने विश्वास छ ।’

अरुणा नेपाली महिला टोलीकी सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले लगातार दुई पटक एभिसी सेन्ट्रल जोनमा च्याम्पियन बनेको थियो । त्यस्तै साढे दुई वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो । साग इतिहासमा नेपाल फाइनल पुगेको त्यो पहिलो अवसर थियो । त्यसअघि नेपालले सागमा तीन पटक कास्य पदक जितेको थियो । Source: hamrokhelkud.com

Leave a Reply