स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत म्याग्दी जिल्लामा नवनिर्वाचित जनप्रतिनिधिहरुले आज (बुधवार) शपथग्रहण लिएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित एक समारोहबीच जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बेनी नगरपालिकाको प्रमुख सुरत केसी, रघुगंगा गाउँपालिकाको अध्यक्ष भवबहादुर भण्डारी, मंगलाको अध्यक्ष सतप्रसाद रोका, मालिकाको अध्यक्ष वेगप्रसाद गर्बुजा र धवलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित प्रेमप्रसाद पुनलाई म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले शपथग्रहण गराउनुभयो । नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले न्यायाधीशसामु शपथ लिएपछि उहाँहरुले आ–आफ्नो पालिकाका उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

यसैबीच बेनी नगरपालिकाको आयोजनामा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । यसअघि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुलाई विदाई गर्नुका हालै निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरिएको बेनी नगरपालिकाले जनाएको छ । सोही अवसरमा बेनी नगरका नवनिर्वाचित नगर प्रमुख सुरत केसीले उपप्रमुख ज्योती लामिछानेसहित वडाध्यक्ष र सदस्यहरुलाई शपथ खुवाउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नवनिर्वाचित नगर प्रमुख केसी, उपप्रमुख ज्योती लामिछानेसहित वडाध्यक्ष र सदस्यहरुलाई टिका र खादा लगाएर स्वागत गर्नुभयो । यसैगरी नवनिर्वाचित नगर प्रमुख केसी, उपप्रमुख लामिछाने र प्रमुख प्रशासकीय अधिकृत ढकालले मायाको चिनो प्रदान गरी निर्वतमान नगर प्रमुख र उपप्रमुखलाई विदाई गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख केसीले नगरको पिता र अभिभावक बन्ने र बनाउने भन्दा पनि जनताको सेवकको रुपमा काम गनुपर्ने भएकाले सोहीअनुसार वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले २४सै घण्टा जनताको सेवकको रुपमा काम गर्न आफूहरु तयार रहेको बताउँदै बेनी नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना गरी नगरवासीको कामलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।

बेनी नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिकुमार श्रेष्ठले सङ्घीयताको पहिलो अभ्यासको क्रममा रहेकाले कतिपय कामहरु गर्दागर्दै पनि बाँकी रहेको बताउँदै आगामी दिनमा पनि समग्र नगर क्षेत्रको विकासमा आफ्नो सहयोग र हातेमालो रहने बताउनुभयो । नवनिर्वाचित नगर उपप्रमुख ज्योती लामिछानेले यसअघि पाँचवर्षे कार्यकालमा निवर्तमान जनप्रतिनिधिले गरेको कामलाई उच्च मूल्याङ्कनसहित निरन्तरता दिएर अगाडि बढ्ने बताउँदै सबैको साथ र सहयोगबाट नगरको विकासमा आफूहरु केन्द्रीत भएर लाग्ने बताउनुभयो ।

निवर्तमान नगर उपप्रमुख सञ्जु बरुवालले आफूहरुको पहिलो कार्यकालमा नगरपालिकामा जग बसाल्ने काम गरिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र अर्थुङ्गेका नवनिर्वाचित वडाध्यक्ष कृष्णबहादुर बानियाँले मन्तव्य व्यक्त गरेको कार्यक्रम बेनी नगरपालिकाको शाखा अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply