म्याग्दी जिल्लाको निर्माण क्षेत्रमा क्रियाशील मजदुरका छोराछोरीहरुलाई आज (बुधवार) शैक्षिक सामग्रीहरु सहयोग भएको छ । कोरियाको निर्माण क्षेत्रमा आबद्ध त्यहाँका मजदुर तथा नेपालबाट कोरिया गई फर्किएका नेपालको निर्माण क्षेत्रका मजदुरहरुको व्यवस्थापनमा सामग्री सहयोग गरिएको हो ।

नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटी म्याग्दीको समन्वयमा १४ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । निर्माण क्षेत्रमा आबद्ध रही निम्न आय भएका मजदुरका कक्षा ३ देखि ११ सम्म अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको जिफन्टले जनाएको छ । बालबालिकालाई १ वर्षसम्म पुग्ने गरी कपीकलम, पेन्सिल, मसी, झोला र विद्यालय पोशाक सहयोग भएको छ ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालका केन्द्रीय कमिटी महिला विभाग प्रमुख बलादेवी राईको विशेष उपस्थितिमा बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । कार्यक्रममा महिला विभाग प्रमुख राईसहित जिल्ला सचिव पुजा छन्त्याल, जिफन्ट बेनी नगर कमिटीका अध्यक्ष राजकुमार राई र उपाध्यक्ष लङ्कमान तामाङले सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रम जिफन्ट बेनी नगर कमिटी सचिव अर्जुन रानाको सञ्चालनमा सम्पन्न भएको थियो । निर्माण क्षेत्रका कोरियाली मजदुरहरुले हरेक वर्ष नेपालमा मजदुरका छोराछोरीलाई अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित शैक्षिक सामग्रीहरु सहयोग गर्दै आइरहेका छन् ।

Leave a Reply