गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट म्याग्दीको बेनी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गर्नुका साथै बधाई दिइएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आज बेनीमा एक कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिलाई बधाइज्ञापन गरिएको हो ।

स्वागत एवं बधाइज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पहाडी इलाकामा रहेको बेनी नगरपालिकाले नगरपालिका बन्न सक्ने आधारहरु पुरा गर्न नसकेको बताउनुभयो । उहाँले समग्र बेनी नगरपालिका क्षेत्रको विकास गर्नका लागि निजी क्षेत्रसँग आफूहरु सहकार्य गर्न आवश्यक रहेको बताउँदै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रको विकासमा विशेष जोड दिइने बताउनुभयो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आम नगरवासीलाई आत्मनिर्भर बनाउन नगरपालिकामार्फत विभिन्न किसिमका सिपमूलक तालिमहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले बेनी नगरपालिकालाई समृद्ध बनाउन उत्पादनसँग जोडिन आवश्यक रहेकोमा जोड दिँदै कृषि उपज र उत्पादित सामानको बजारीकरणलगायत क्षेत्रमा उद्योग वाणिज्य संघले आवश्यक सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले उद्योगी, व्यवसायीको हितलाई मध्यनजर गरी आवश्यक ऐन, कानुनहरु बनाउनुपर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योग, व्यवसाय फस्टाउने गरी बेनी नगरपालिकाले आवश्यक वातावरण तयार गर्नुपर्ने बताउँदै त्यसका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसी र महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले मन्तव्य राखेको कार्यक्रम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालको अध्यक्षता, महासचिव अमृत बानियाँको सञ्चालन र वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको धन्यवाद मन्तव्यमा सकिएको थियो ।

 

Leave a Reply