म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङका सबै बस्तीमा वडा कार्यालयले इन्टरनेट विस्तार गर्ने भएको छ । नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा विदाई कार्यक्रमपछिको वडा समितिको पहिलो बैठकले वडाभित्रका सबै बस्तीमा मासिक शुल्क बाहेक बजेटबाट इन्टरनेट जडान सहित सेवाप्रवाहलाई कार्यालय बाहिरबाट समेत दिन मिल्ने बनाउने निर्णय गरेको हो ।

दोस्रो कार्यकालका लागि वडा अध्यक्षमा निर्वाचित राजाराम उपाध्यायले पहिलो कार्यकालको अनुभव सहित थप उर्जा लिएर दोस्रो कार्यकाल वडाबासीको अपुरो योजना पुरा गर्ने बताउनुभयो । ‘अब वडाका धेरै सेवाहरुलाई समयसमयमा बस्तीबाटै दिन्छौ, सकेसम्म वडामा आउनुपर्ने वातावरण बनाउँदैनौ’ वडा अध्यक्ष उपाध्यायले भन्नुभयो । भौगोलिक रुपमा छरिएको बस्तीका जनतालाई सहज र प्रभावकारी सेवा दिन जनप्रतिनिधि प्रतिबद्ध रहेको जनाइएको थियो ।

वडाबाट लिने सेवाहरु अनलाइनको माध्यमबाट हुने भएकाले पनि सेवालाई सहज बनाउने जनप्रतिनिधिको भनाई थियो । अघिल्लो कार्यकालका जनप्रतिनिधिको विदाईको अवसरमा नयाँ जनप्रतिनिधिले पुरानाको अनुभव र सल्लाह सहित सहकार्य गरिने बताएका थिए ।

Leave a Reply