म्याग्दीको बेनी नगरपालिका वडा नं २ फाँपरखेतका एक बालकको आँखाको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अवस्था कमजोर भएका अनिल दर्जीको आँखाको दृष्टीमा समस्या भएपछि उपचारका लागि आवश्यक पर्ने खर्च अभावले समस्या भएको हो ।

स्थानीय अर्जुन मावि भकुण्डेमा अध्ययनरत १३ बर्षिय दर्जीको जन्मजात आँखामा समस्या भएपनि अहिले एउटा आँखामा जटिल समस्या देखिएपछि उपचारमा सहयोगको याचना गरिएको छ । ‘एउटा आँखाबाट मधुरो देख्छु,‘पढ्न पनि समस्या भएको छ,सुत्दा आँखा दुख्छ’अनिलले भने । बाल्यकालदेखि नै आँखाको उपचारमा औषधी सेवन गदैं आएका दर्जीले शल्यक्रिया सहितको उपचारमा खर्च जुटेमा काठमाण्डौ जाने बताए । समयमै उपचार नभए पूर्णरूपमा दृष्टि बिग्रिन सक्ने भन्दै उनले सहयोगको याचना गरेका छन् ।

अनिलका बुबा आइतबहादुर दर्जी समेत पूर्ण रुपमा दृष्टिविहिन छन् । अनिलमा देखिएको समस्या वंशानुगत हुनसक्ने भन्दै उपचारमा ढिलाई गर्न नहुने चिकित्सकको भनाई छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा घरदैलोमा पुगेका नेताहरूले उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएपनि निर्वाचन सकिएपछि सम्पर्कमा नआएको दर्जी परिवारको गुनासो छ ।

गाउँघरमा गिटी कुटेर जिवन निर्वाह गर्ने गरेका आइतबाहादुरको उपचार तथा घरखर्चका लागि यसअगाडी बेनीअनलाइनले समेत सहयोग जुटाएको थियो । अनिलको परिवार गाउँमा रहेको सार्वजनिक जग्गामा बस्दै आएको छ ।
थप जानकारीका लागी वडा अध्यक्ष यामबहादुर कार्की ९८५७६४७०६२

Leave a Reply