नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा आज (बुधवार) सदरमुकाम बेनीमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापन कार्यक्रम सम्पन्न भएको छ । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ बाट बेनी नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित नगर प्रमुख र उपप्रमुखलाई बधाई दिइएको हो ।

बधाइज्ञापनपछि पत्रकारसँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरत केसीले जिल्लामा सञ्चालित सञ्चारमाध्यमको विकास तथा पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताउनुभयो । उहाँले अहिले पनि स्थानीय तहबाट जिल्लाभन्दा बाहिर विज्ञापनमा ठूलो रकम बाहिरिने र जिल्लाभित्र सञ्चालित मिडियाले सानो रकम पाउने अवस्था रहेको बताउँदै यसलाई समाधान गरिने बताउनुभयो ।

बेनीबजारमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन गरेर आवश्यक निर्णय लिइने नगर प्रमुख केसीले बताउनुभयो । उहाँले नगर क्षेत्रमा कार्यरत मजदुरहरुको खर्च कम गरी बचत गर्ने बानीको विकासका लागि श्रम कार्डको व्यवस्थासहित दैनिकभन्दा मासिक रुपमा ज्याला प्राप्त हुने व्यवस्थापनमा पहल गरिने बताउनुभयो । जेठ १५ गतेदेखि नै बेनी नगरपालिकाको सवै वडाको स्वास्थ्य संस्थामा ४५ वर्षभन्दा माथिको नागरिकका लागि नसर्ने रोगको परीक्षणसम्बन्धी शिविर सञ्चालन गर्ने तयारी थालिएको उहाँको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले पत्रकार तथा सञ्चारकर्मीले सकारात्मक सल्लाह, सुझाव तथा असल सल्लाहकारको भूमिका निभाउनुपर्ने बताउनुभयो ।

उहाँले बेनी नगरको समग्र विकासमा सबै पक्षबाट सहयोगको आवश्यकता रहेको बताउँदै नागरिकको समस्या समाधान गर्न प्राथमिकताका साथ काम गरिने बताउनुभयो । नगरपालिकाका धेरै वस्तीहरुमा आधारभूत आवश्यकताहरुको समेत परिपूर्ति नभएकाले त्यसलाई मध्यनजर गर्दै योजना निर्माण हुने र महिलाको क्षमता अभिवृद्धिका लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिने उपप्रमुख लामिछानेले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले नगरपालिकामार्फत प्राप्त जग्गाको उपयोग गर्नका लागि आवश्यक सहयोग गरिदिन नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले जिल्लामा सञ्चालित संचारमाध्यमहरुको सबलीकरणका लागि आवश्यक सहयोग तथा पत्रकारहरुको क्षमता अभिवृद्धिसहितका तालिम÷गोष्ठी संचालन गर्न र विज्ञापन वितरणलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अवसरमा पत्रकार महासंघको तर्फदेखि पत्रकार तथा सञ्चारमाध्यमसम्बन्धी आवश्यक सुझावपत्र नगर प्रमुख केसी र उपप्रमुख लामिछानेलाई हस्तान्तरण गरिएको छ । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गोतमको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply