म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवारदेखि सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षासम्बन्धी गोष्ठी सकिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक व्यवस्थापनमा समीक्षा गोष्ठी सञ्चालन गरिएको थियो ।

बहिरङ्ग उपचार केन्द्रबाट सञ्चालित कार्यक्रमबारे समग्र प्रगतिको विषयमा समीक्षा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो । उक्त गोष्ठीमा बहिरङ्ग उपचार केन्द्रहरुको प्रस्तुतीकरण, कडा, शीघ्र कुपोषित बालबालिकाहरुको उपचारमा आवश्यक ज्ञान सिपको पुनरावलोकन, समयमै कुपोषित बच्चाको व्यवस्थापन, वृद्धि अनुगमन, आरयुटिएफको आपूर्ति प्रणाली, बहिरङ्ग उपचार केन्द्र विस्तार, कार्यक्रम सञ्चालनका समस्या, असल अभ्यास, कुपोषणमुक्त समाज निर्माण र कार्ययोजना निर्माणको विषयमा सहजीकरण भएको थियो ।

दुई दिनसम्म चलेको गोष्ठीका विषयवस्तुमाथि स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रमको केन्द्रीय कार्यालयका पोषण विज्ञ मनिशा श्रेष्ठ, बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थीले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा स्थानीय तहको स्वास्थ्य शाखा र बहिरङ्ग उपचार केन्द्रबाट गरी ३५ जनाले सहभागिता जनाएका थिए ।

तालिमको स्वास्थ्य कार्यालयका सिनियर अहेव सोमनाथ उपाध्यायले समापन गर्नुभएको थियो । म्याग्दी जिल्लामा रहेका स्वास्थ्यचौकीहरुमध्ये १४ ओटामा बहिरङ्ग उपचार केन्द्रहरुबाट कुपोषित बालबालिकाहरुको पहिचान गरी उपचार हुँदै आइरहेको छ ।

Leave a Reply