लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा पढाऔं अभियानअन्तर्गत आज (शुक्रवार) शैक्षिक तथा खाद्यान्न सामग्री सहयोग भएको छ । क्लबको पढाऔं अभियानअन्तर्गत नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री पोशाक तथा खाद्यान्न सहयोग गरिएको हो ।

लायन्स क्लबले पढाऔं अभियानअन्तर्गत १८ हजार चारसय रुपैयाँबाट म्याग्दी बालगृहलाई चामल २ पिस, दाल ४ केजी, चिनी २ केजी, चियापत्ती १ केजी, भुजा ३ पाथी, खानेतेल ५ लिटर, बिस्कुट २ प्याकेटसहित दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ । यसैगरी क्लबले बालगृहमा आवासीय सुविधासहित अध्ययनरत १० जनालाई विद्यालय पोशाक तथा कापीकलम सहयोग गरेको जनाएको छ ।

त्यस्तै क्लबबाटै विद्यार्थी ईन्द्र भण्डारीलाई चस्मा सहयोग गरिएको छ । सोही अवसरमा लायन्स क्लब म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँले आफ्नी स्वर्गीय आमा रत्नदेवी जिसीको स्मृतिमा नगद १० हजार रुपैयाँसहित थप तीनहजार रुपैयाँको खाद्यान्न सहयोग गर्नुभएको छ । क्लबका पूर्व अध्यक्ष एवं हालै बेनी नगरपालिका–८, बेनीको वडा सदस्यमा निर्वाचित भएको उपलक्ष्यमा जानकी विश्वकर्माले म्याग्दी बालगृहलाई नगद १५ हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

क्लबका भूपू अध्यक्ष अम्बिका श्रेष्ठले आफ्नो स्व. पिता नैनकुमार श्रेष्ठको स्मृतिमा बालगृहका बालबालिकाहरुलाई तीनहजार आठसय रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । विष्णु कार्कीले आफ्नी छोरी अन्जुको जन्मदिनको अवसरमा बालगृहलाई एकहजार पाँचसय १० र लालकुमारी रेग्मीले पनि आफ्नी छोरी अनुसुयाको जन्मदिन पारेर नगद एकहजार रुपैयाँ सहयोग गर्नुभएको थियो । कार्यक्रमको अवसरमा वडा सदस्यमा निर्वाचित जानकी विश्वकर्मालाई अबिरको टिका र खादा लगाएर बधाइज्ञापन समेत गरिएको थियो ।

उक्त खाद्यान्न तथा शैक्षिक सामग्री र नगद बाल सङ्गठनका उपाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष हरिप्रसाद पौडेल र केन्द्र प्रमुख सुजन केसीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष पौडेल र क्लबका संस्थापका अध्यक्ष अमृत बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष नवीना रावलको अध्यक्षता र सचिव थुमा खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा पढाऔं अभियानका अभियन्ता समेत रहनुभएका भूपू अध्यक्ष अम्बिका श्रेष्ठले स्वागतसहित कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply