विष सेवन गर्दागर्दैको अवस्थामा फेला पारेर समयमै अस्पताल पुर्याएकाले बचेको थियो रमेश। छोरालाई बचाउन सकेकोमा उसका बाबुआमा लगायत परिवारका सबै सदस्य खुसी थिए। उनीहरूलाई के थाहा थियो भने त्यो खुसी केहीदिनको मात्र हो। एक महिना पनि बित्न नपाउँदै उसले फेरि विष सेवन गरेछ। ‘बेहोसीको अवस्थामा उसलाई अस्पताल त पुर्याइयो तर बचाउन सकिएन,’ भन्छन् उसका बाबु रमानाथ।
नेपालमा हरेक दिन १९ जना र एक वर्षमा ६,२५२ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ। लकडाउनको समयमा यो सङ्ख्या बढेर सातहजार नाघेको छ। यसमध्ये महिला ४३ प्रतिशत र पुरुष ५७ प्रतिशत रहेको छ (२०१९-२०२० को प्रहरी विभागको तथ्याङ्क)। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वभरमा लगभग १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन्। हरेक २० सेकेन्डमा एक जनाले आत्महत्या गर्छ।
के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्न आँट गर्छ त मानिस? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता अरूमा हुँदैन, किनकि अरूले त्यो दुःख, पीडा र डिप्रेसनको निराशाजनक अवस्थालाई मनको त्यो गहिराइमा अनुभव गरेको हुँदैन। जसले आत्महत्याको कोसिस गर्छ वा आत्महत्या गर्छ, उसले मनको त्यो अन्तरात्मामा असीम पीडाको अनुभूत गर्छ, जसबाट निस्कने कुनै विकल्प देख्दैन।
व्यक्तिपिच्छे यसको कारण अलगअलग हुन्छ, किनकि हरेक व्यक्तिको आआफ्नो छुट्टै स्वभाव निर्माण भएको छ। त्यहीअनुसार हरेक चिजवस्तुलाई हेर्ने र ग्रहण गर्ने आफ्नै मूल्य र मान्यता छ। त्यही कारणले प्रत्येक व्यक्तिलाई खुसी बनाउने र दुःखी बनाउने चिजवस्तु वा परिस्थिति अलगअलग नै हुन्छ। जब जीवन कुनै कारणले अत्यन्त कष्टप्रद, समस्याग्रस्त हुन पुग्छ र त्यसको निवारणको बाटो कतै भेट्दैन, तब एकमात्र विकल्पका रूपमा आत्महत्यालाई रोज्न पुग्छ मानिस।
आत्महत्याको कारण
१. परिस्थितिजन्य कारण
२. मानसिक वा भावनात्मक कारण
परिस्थितिजन्य कारण
– सम्बन्ध विच्छेद
– पारिवारिक समस्या
– शारीरिक समस्या (कुनै जटिल रोग)
– लागु औषध दुर्व्यवसन
भयङ्कर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व, जसलाई आफूले विशेष ठानेको हुन्छ, उसको आत्महत्याको खबर)
– रिसको आवेग
– जिज्ञासाको कारण (बालबालिकामा हुन सक्ने)
– स्कुल वा कार्यक्षेत्रमा समस्या
– बेरोजगारी
– आर्थिक तथा कानुनी समस्या
– कुनै पनि समस्या, जसको समाधान कतै पनि देखिँदैन
मानसिक वा भावनात्मक कारण
– निराशावादी चिन्तन
– समस्यामा जेलिएको महसुस गर्नु
– जीवनप्रतिको अवमूल्यन
– बाँच्नुको औचित्य नदेख्नु
– जीवनमा कुनै उद्देश्य नहुनु
मानसिक समस्या (डिप्रेसन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया)
बढी खाने वा नखाने समस्या (इटिङ डिसअर्डर)
आत्महत्या गर्ने मानिसले देखाउने लक्षण
– आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसका बारेमा लेख्ने गरेको हुन्छ। अरूका लागि उसको कुरा जोक जस्तो लाग्न पनि सक्छ।
– आत्महत्या गर्नका लागि प्रयोग गरिने साधन (डोरी, चक्कु, विषादि औषधी आदि) तिर बढी आकर्षित हुन्छ। उसले योजना बनाइरहेको हुन्छ, कुन चिजद्वारा सजिलै मर्न सकिन्छ।
– साथीभाइ, आफन्तसँग बिदा मागिरहेको हुन्छ। परिवारमा आफू गएपछि पर्न सक्ने अप्ठ्यारोको पनि सकेसम्म व्यवस्था मिलाउन खोजिरहेको हुन्छ। आफ्ना सामानहरू अरूलाई बाँड्न सक्छ, जुन पहिला आफ्नो स्वामित्वमा राखेको हुन्छ।
– दुःखी, निराश देखिन्छ।
– आफ्नो बारेमा लापरवाही गर्दै जान्छ।
– पहिले खुसीले गर्ने कामप्रति रुचि कम हुँदै जान्छ।
– धुम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्छ।
– अरूबाट अलग्गिने, एक्लै बस्न रुचाउने हुन थाल्छ।
– आफूप्रति घृणाको भाव देखाउन थाल्छ।
– अचानक खुसी र शान्त देखिन थाल्छ।
माथिका लक्षणमध्ये केही लक्षण केही समय अघिदेखि देखिएको छ, एक्कासी खुसी देखियो भने त्यो व्यक्तिले मर्नका लागि पूरै योजना बनाइसक्यो। अब उसले आफ्नो जीवन समाप्त गर्दै छ भनेर बुझ्दा हुन्छ।
आत्महत्या जुनसुकै उमेरका मानिसले पनि गर्छन्, तर पनि विशेषगरी १५ वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिले बढी गर्ने गरेको अध्ययनले देखाउँछ। यो उमेर भनेको सिर्जनशील उमेर हो। यस्तो उमेरमा कुनै व्यक्तिले आत्महत्या गर्यो भने उसको परिवारमा कस्तो अवस्था आइपर्ला यो कुरा सोच्न पनि गारो हुन्छ। मर्ने इच्छा कसैलाई हुँदैन तर पनि मानिसले आफैँलाई मार्न तयार हुन्छ, चाहे जुनसुकै कारणले किन नहोस्। यसलाई रोकथाम गर्नु अति नै आवश्यक छ।
रोकथामका उपाय
१. लक्षणको पहिचान
आत्महत्या रोकथामका लागि सबैभन्दा महत्वपूर्ण र पहिलो काम भनेको आत्महत्या गर्ने व्यक्तिले देखाउने लक्षणका बारेमा स्पष्ट हुनु आवश्यक छ। कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन। विभिन्न रिसर्चअनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८०-९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएका हुन्छन्। बाँकी केहीले रिसको आवेगमा आएर वा बालबालिकाको हकमा जिज्ञासाका कारणले पनि आत्महत्या भएको पाइएको छ। त्यसैले परिवारको सदस्य वा साथीभाइमा यस्ता लक्षणहरू देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ।
२. प्रश्न सोध्ने
साथीभाइ तथा परिवारका कुनै पनि सदस्यमा यदि यस्ता किसिमका कुनै लक्षण देखिन थालेमा उक्त व्यक्तिसँग उसको समस्याका बारेमा सोधपुछ गर्नुपर्छ। सोधपुछ गर्ने व्यक्तिलाई समस्या भएको व्यक्तिले विश्वास गर्ने पनि हुनुपर्छ। विश्वासिलो व्यक्तिलाई मात्र मनको कुरा पोख्न सक्छ। त्यसैले उसका समस्याका बारेमा राम्ररी धैर्यका साथ सोधपुछ गर्नुपर्छ, जस्तैः आत्महत्याको विचार कहिलेदेखि आउन थाल्यो? दिनमा यस्तो विचार कतिपटक आउँछ वा कहिले–कहिले आउँछ?
३. कुरा सुन्ने
समस्याग्रस्त व्यक्ति जब कुनै व्यक्तिप्रति विश्वस्त हुन्छ, त्यसपछि उसले आफ्ना समस्या व्यक्त गर्न सक्छ। उसले भनेका सबै कुरा विनापूर्वाग्रह (ननजजमेन्टल भएर) सुनिदिनुपर्छ। ऊप्रति सहानुभूति प्रकट गर्नुपर्छ। उसका हरेक कुराप्रति सहमति जनाउनुपर्छ। सुन्ने व्यक्तिलाई उसको कुरा सामान्य लाग्न सक्छ तर त्यही कुरा उसका लागि भयङ्कर पीडादायी भएको हुन सक्छ।
यस्तो अवस्थामा उसलाई सल्लाहसुझाव दिने, तर्कवितर्क गर्ने, नैतिकताको शिक्षा दिने, धर्म संस्कारका कुरा सिकाउने, जीवनदर्शनका कुरा सुनाउने, पारिवारिक मायामोहका कुरा गरेर मोड्न खोज्नु मूर्खतापूर्ण कार्य हो। यसले झन् उत्साही बनाउँछ आत्महत्या गर्न। त्यसैले उसका प्रत्येक कुरा ध्यानपूर्वक सुनिदिने र उसको पीडा आफूले पनि महसुस गरेको विश्वास दिलाउन सक्नुपर्छ।
४. उपचारका लागि सहयोग
वास्तवमा मान्छे मर्न चाहँदैन। उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पका रूपमा रोजेको एउटा बाटो हो आत्महत्या। यो अवस्थामा पुगेको व्यक्तिलाई उसको पीडा सुनिदिएर केही मानसिक राहत दिँदै छिटोभन्दा छिटो मानसिक स्वास्थ्यविशेषज्ञको सहयोग दिलाउनु आवश्यक हुन्छ। उनीहरूको सल्लाहबमोजिम उपचार गराउनुपर्छ। फलोअपमा लैजानुपर्छ। यसबाहेक पनि उसलाई खानपानमा हेरचाह गर्ने, शारीरिक क्रियाकलापतिर बिस्तारबिस्तार अग्रसर गराउने, एक्लै हुन नदिनेजस्ता कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ।
अत्यन्त महत्त्वपूर्ण कुरा
आत्महत्याको सबभन्दा ठूलो कारक तत्त्व भनेको डिप्रेसन हो। हालसम्मको रिसर्चअनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेसनको सिकार भएको पाइएको छ। डिप्रेसनको औषधी खाइरहेको बेलामा पनि कसैकसैलाई आत्महत्याको विचार घट्नुको सट्टा झन् बढ्न सक्छ। त्यसैले पहिलोपटक डिप्रेसनको औषधी खुवाइरहेको छ वा मात्रा परिवर्तन गरिएको छ भने त्यो व्यक्तिलाई विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ, किनकि औषधीले पनि आत्महत्याको विचार आउन सक्छ। सुरुका दुई महिना आत्महत्याको खतरा बढी हुने सम्भावना हुन्छ। औषधी खाइरहेको छ, अब केही हुन्न भनेर ढुक्क हुनु हुँदैन।
आत्महत्या आफैमा एउटा जटिल समस्या भए पनि यसलाई न्यूनीकरण गर्न सकिन्छ। त्यसका लागि एक व्यक्ति वा संस्था पर्याप्त हुँदैन। देशका सम्पूर्ण अङ्गहरूजस्तै सरकारको माथिल्लो तहमा रहेर नीतिनिर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यान्वयन गर्ने स्थानीय सरकार लगायत स्वास्थ्य, शिक्षा, सञ्चार, कानुन सबै क्षेत्रबाट उचित समन्वय र सहकार्य हुनु आवश्यक छ। तब मात्र हामीले आशातीत सफलता हासिल गर्न सक्छौँ।
(लेखक आचार्य मनोसामाजिक परामर्शदाता हुन्)