तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका सबै यात्रुको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा रहेको चट्टानी पहरामा विमानका अवशेषहरु सँगै लासहरु यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएका हुन् ।

भेटिएका मध्ये आधा जति लासहरु पहराबाट उठाएर बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ भने अन्य लासहरु पनि झार्ने क्रम जारी छ । मौसमी तथा भौगोलिक प्रतिकुलताका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ ।

अहिले पनि सुरक्षाकर्मीहरुको टोलीले उद्धारको प्रयास जारी राखेको छ । संकलित शवहरुको पोष्टमार्टम तथा मुचुल्का बनाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार बिहानदेखि बेपत्ता रहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । सो दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको छ ।

Leave a Reply