पोखरा–जोमसोम हवाई मार्गलाई हिमाल र पहाड जोड्ने चल्तीको रुट मानिन्छ। अहिले मोटरबाटोले हिमाली जिल्ला मुस्ताङलाई जोडेपछि पोखरासम्मको आउजाउ केही सहज भएको छ। नत्र, केही वर्ष अघिसम्म पोखरा–जोमसोमको स्थलमार्गको यात्रा निकै नै सकसपूर्ण थियो। स्थलमार्ग सहज नहुँदासम्म मुस्ताङीको पोखरा आउजाउको एक मात्र विकल्प कि त पदयात्रा थियो, कि हवाई माध्यम।

पर्यटकीय क्षेत्र पर्ने भएकोले सिजनका बेला पोखरा–जोमसोम रुटमा उडान हवाई गर्ने कम्पनिका लागि भ्याइनभ्याइ हुन्छ। अरुतिरको रुटका उडान कटौती गरेर भएपनि हवाई कम्पनिले त्यो बेला पोखरा–जोमसोम उडान गर्दछन्। सिजनका बेला एकैदिन यो रुटमा दुई दर्जनसम्म उडान भएका छन्। धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथ, माथिल्लो क्षेत्र लोमान्थाङ र अन्नपूर्ण फेरोलाई जोड्ने विश्वकै चर्चित पर्यटकीय पदमार्गका कारण पर्यटक पनि पर्याप्त हुने भएकोले सिजनका बेला यो रुटका हवाईजहाजलाई यात्रुको अभाव खासै हुँदैन।

ठूलो संख्यामा पर्यटकको आउजाउ हुने हुँदा हवाई उडानले यो रुटमा प्राथमिकता पाउँदै आएको छ। तरपनि यो हवाई रुटको मुख्य चुनौती सुधार्नेतर्फ कहिल्यै ध्यान दिइएन। जसका कारण पोखरा–जोमसोमको हरेक उडानले चुनौतीकाे सामना गरेका हुन्छन्, प्रत्येक उडान जोखिम निकट हुने गरेका छन्। बेलाबेला यही रुटमा हुने हवाई दुर्घटनाले रुटका हवाई यात्रुको मनमा ढ्यांग्रो ठोक्ने गरेको छ।

सबैभन्दा जोखिम त उडान दौरान केही समय सम्पर्कविहीन हुनुपर्न झनै जोखिमपूर्ण मानिन्छ। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पोखराबाट घोरेपानी २० नटिकल माइल (३७.०४ किमी) हो। पोखरा विमानस्थलको कन्ट्रोल जोन भने १० नटिकल माइल (१८.५२ किमी) मात्र हो। पोखराको टावरले १० नटिकल माइलभित्र मात्र जहाजलाई निर्देशित गर्छ, तर जहाजसँगको सम्पर्क भने जोमसोमतर्फ घोरेपानीसम्म मात्र हुन्छ। त्यस अनुसार पोखराको जहाजले घोरेपानीसम्मको जहाजलाई सम्पर्क गर्छ। घोरेपानी कटेपछि लेतेको प्लेटु भन्ने ठाउँसम्मको समय चार मिनेटमा पार हुन्छ, तर, यो समयमा कतैपनि हवाई जहाजको सम्पर्क हुँदैन। जोमसोम टावरले पनि प्लेटुसम्म सम्पर्क गर्छ, त्यो दूरी पनि चार मिनेटको हो।

‘घोरेपानी–प्लेटु चारमिनेटको दूरी कतैपनि सम्पर्क हुँदैन,’ सुवेदीले भने, ‘त्यो ठाउँमा कतैपनि कसैसँग सम्पर्क नहुँदा अनुमान र उपकरणको भरमा उड्नुपर्छ। क्याप्टेनले अगाडि हेरेको दृष्यको भरमा उडान गर्छन् र आवश्यक निर्णय लिन्छन्।’ उनका अनुसार सम्पर्कविहीन हुनुपर्ने घोरेपानी–प्लेटु यस्तो ठाउँ हो की त्यहाँ पुगेपछि अगाडि बढ्नुको विकल्प छैन। पछाडि फर्काउन वा दायाँबायाँ गराउन सकिन्न। 

उनका अनुसार पोखराबाट उडेको जहाजले घोरेपानीसम्म पोखरा टावरसँग सम्पर्क गर्छ। त्यसपछि जहाजलाइ जोमसोम विमानस्थल टावरका लागि हस्तान्तरण गरिन्छ। पोखराबाट जहाज १० मिनेटमा घोरेपानी पुगिसक्छ। घोरेपानी कटेको जहाजको बीचको चारमिनेट कतैपनि सम्पर्क हुँदैन। प्राविधिहरुले यसलाई ‘बफर जोन’ भन्ने गर्छन्। प्लेटु पुगेर जोमसोम सम्पर्कमा आएको जहाजले अन्तिम ४ मिनेटपछि जोमसोममा अवतरण गर्छन्।

‘बफर जोनमा परेर जहाज अप्ठेरोमा पर्न सक्छ,’ उनले भने, ‘छोटो समयभित्र मौसममा बदली हुने भएकोले पनि यसमा झनै समस्या हुनसक्छ।’ पोखरा–जोमसोमको दूरी ५१ नटिकल माइल छ। ‘बफर जोन क्रस गर्नु निकै चुनौतीपूर्ण छ,’ उनले भने, ‘करिब चार मिनेट कतैपनि सम्पर्क नभइ जहाज उड्ने गर्छन्। त्यसैले यो रुट निकै डरलाग्दो मानिन्छ।’ पोखराबाट जहाज उड्ने बेला जोमसोमलाई जानकारी दिन्छ। त्यसपछि घोरेपानीसम्म पोखराले सम्पर्क गरिरहन्छ। घोरेपानीबाट जोमसोमलाई हस्तान्तरण गर्ने भएपनि जहाज प्लेटु पुगेपछि मात्र जोमसोमलाई रिपोर्ट गर्छ। ‘बफर जोन’ निकै नै डरलादो ठाउँ हो,’ सुवेदीले भने।

यो रुटमा नियमित उडान भरिरहेका एक हवाई कम्पनिका पाइलट पनि घोरेपानी कटेर लेते नपुगेसम्म कतैपनि सम्पर्क नहुने बताउँछन्। ‘बीचको चार मिनेट समय कतैपनि सम्पर्क हुँदैन। यो करिब चारमिनेटको अवधि हो। हामीले उपकरणका आधारमा उडान गर्ने हो,’ ती क्याप्टेनले भने, ‘हाम्रो सम्पर्क मात्र नहुने हो, उडानलाई त प्रविधिले नै गाइड गरेको हुन्छ।’ सम्पर्कविच्छेद हुने त्यो ठाउँमा रिपिटर स्टेशन राख्ने हो भने जहाजलाई सहज हुने उनी बताउँछन्। ‘रिपिटर स्टेशन राख्ने हो भने यो समस्या समाधान हुन्छ,’ ती क्याप्टेनले भने।

सुवेदीका अनुसार पोखराबाट जोमसोम जाँदा घोरेपानी कटेपछि मात्र जहाज जोमसोम जाने वा नजाने भनेर पाइलटले निर्णय लिन्छन्। ‘घोरेपानीबाट अघि बढेपछि बल्ल मौसमको समस्या हुन्छ। बादल पनि त्यही हुन्छ। अनि टावरसँग पनि सम्पर्क हुँदैन,’ उनले भने, ‘त्यसले गर्दा समस्या हुनसक्छ।’ सम्पर्कविहीन हुने क्षेत्र (घोरेपानी–लेते) खण्डमा हवाई जहाजलाई टावरसँग सम्पर्क गराउने टावर राख्न सके यो समस्या समाधान हुने सुवेदीको भनाई छ।  source: Nagariknews.com

Leave a Reply