बेनी नगरपालिका–७,बिरेन्द्रचोकस्थित सहिद स्मारक नजिकै ब्यानर राखेर सोमबार विहानै आमरण अनशन बसेको देखियो। साढे एक दशक अगाडी तत्कालिन दोस्रो जनआन्दोलनका अगुवा पार्टीका विद्यार्थीले छियाछिया पारेको स्वर्गीय राजा बिरेन्द्रको सालिक पुनःस्थापनको चर्चा समेत सेलाउदै गएको अवस्थामा एक्कासी अनशनको दृष्यले पुनः सालिकको चर्चा सुरू भएको छ ।

राजतन्त्रको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत खुलेर सालिक पुनःस्थापनको बहसमा सहभागी हुन नसकेको अवस्थामा एक्कासी स्वतन्त्र नागरिकको नामबाट अनसनको दृष्यले सेलाएको बहस पुनः सुरू भएको छ ।

राप्रपाकै कार्यकर्ता भएपनि पार्टीसँग समेत समन्वय नगरी अनशनमा बस्नुभएका टेकबहादुर केसीले करिब १२ घण्टामा प्रशासनदेखि नगरका जनप्रतिनिधि र सरोकारवाला निकायको ध्यान तान्न सफल हुनुभयो ।सरोकारवाला निकायका प्रतिनिधिको रचनात्मक प्रक्रियासँगै मेयर सुरत केसीले जुस पिलाएर अनशन तोडाउनुभयो ।

Photo: Dipendra shrestha

सामान्य चर्चाका बिच एक्कासी अनशनबाटै शालिक पुनःस्थापना गर्ने अभियान भएपनि के अब फेरि ‘राजा विरेन्द्र’को शालिक स्थापना गर्न संभव छ भन्ने बहस सुरू भएको छ । अनशनरत केसीले अभियानको सुरुवात भइसकेको बताएपनि सरकारी निकायबाटै यो अभियानको प्रक्रियामा मौखिक सकरात्मक र कार्यान्वयनमा असम्भ मानिएको छ ।

पूरानो सालिक तत्कालिन समयमा हातमा परेकाले लगिसकेको अवस्थामा नयाँ शालिक बनाएर राख्न आवश्यक आर्थिक स्रोत लगायतका प्रक्रियाका बारेमा तत्काल केही भन्न नसक्ने अवस्था नभएको वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

‘टोलबाटै वडासम्म निवेदन माग गरिएको छ,‘हामीले कार्यपालिकासम्म पुर्याउँछौ’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । अनसनस्थलमा पुगेका अधिकांसले केसीको अगुवाईलाई सकारात्मक भन्दै प्रशंसा गरेका थिए । हाल सालिक राखिएको स्थानमा सहिद स्तम्भ नामाकरण गरिएकाले सहिदको सम्झनामा राजाको सालिक राख्नुपर्ने तर्क समेत बिरेन्द्रचोकबासीको छ ।

विरेन्द्रचोकको नाम अनुसार विरेन्द्रको शालिक त्यहाँ स्थापना गर्नुपर्छ भन्ने मान्यता रहेको सालिक पुनःस्थापन गर्नेहरूको तर्क छ भने मेटिसकेको अवस्थामा पुनः बहसमा ल्याउनु औचित्य नभएको अर्का पक्षको भनाई छ ।

गणतन्त्रको पक्षधरले पुरानो विरेन्द्र चोक इतिहास भइसकेको अवस्थामा अब गणतन्त्र चोक नै उचित हुने भन्दै राजाको सालिकको विरोध समेत गरेका छन् । ‘राजाको सालिक खोज्ने राजतन्त्र पक्षधरले हो,‘अब अहिले जे छ त्यही राम्रो हुन्छ’ एक कम्युनिष्ट नेताको तर्क छ ।

जिल्लामा गणतन्त्रको पक्षधर सबैले भने सालिकको बिरोध गरेको देखिदैन् । विरेन्द्र चोकको इतिहास जिवन्त राख्न विरेन्द्रको शालिक स्थापनाले पहाड नखस्ने भन्दै स्थानीयको सक्रियतामा राखेर पर्यटकलाई आर्कषित गर्न सकिने तर्क समेत धेरैको छ । सोमबारको अनसन स्थगित गरेपछि अब बिरेन्द्रचोक टोलसुधार समितिबाट हुने सक्रियताले समेत बिरेन्द्रको सालिक पुनःस्थापनको अभियान सुस्ताउने वा अगाडी बढ्ने भन्ने निर्धारण गर्नेछ ।

हालै निर्वाचन मेयर सुरत केसीले माओवादीले बेनी आक्रमण गरेको बेलामा छियाछिया पोल काठमाण्डौबाट फिर्ता ल्याउने घोषणा गरेसँगै वडा नं ७ ले समेत पोल वडाभित्रै राख्ने स्थानको खोजी गर्ने निर्णय गरेको अवस्थामा बिरेन्द्रको सालिक पुनःस्थापनको बहस सुरु भएको छ ।

Leave a Reply