नेकपा एमाले निकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आज (सोमबार) प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । महिला हक तथा अधिकारको सुरक्षा तथा बढ्दै गैरहेको महङ्गी नियन्त्रण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।

चौथो राष्ट्रिय महिला अधिकार दिवस–२०७९ को अवसर पारेर केन्द्रीय कार्यक्रमअनुसार जिल्ला जिल्लाबाट ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएकाले सोहीअनुसार म्याग्दीमा पनि कार्यक्रम आयोजना गरिएको अनेमसंघ म्याग्दीले जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनता पीडित बनेको, स्थानीय चुनावमा गठबन्धन गरी महिलाको उपस्थिति कम गराएको जस्ता विषयहरु ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

अनेमसंघले स्थानीय तहको निर्वाचन नसकिँदै सत्ता गठबन्धन नेतृत्वको सरकारले जनतालाई महङ्गीको मारमा पारेको भन्दै विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसैगरी महिला अधिकारको हनन्, महिलामाथि भैरहेका निरन्तर हिंसा, शैक्षिक जस्तो संवेदनशील क्षेत्र तथा कार्यक्षेत्रमा महिला र बालिकामाथि भएको श्रृङ्खलाबद्ध यौनजन्य हिंसा, दुव्र्यवहार तथा बलात्कारपछि गरिएको हत्या जस्ता गम्भीर प्रकृतिका घटनाहरु दिनप्रतिदिन बढिरहेको भनेर ज्ञापनपत्रबाट सरकारको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा पुरुष निर्वाचित भई महिला जनप्रतिनिधिको सङ्ख्या न्युन हुन गई यसबाट महिलाहरुले राजनीतिक परिवर्तन र राष्ट्र निर्माणमा पु¥याएको योगदानको अवमूल्यन गरेको हुँदा राजनीतिमा महिलाको स्थायित्व र समानुपातिक सहभागिताको सुनिश्चिततामा प्रश्नचिह्न खडा गरेको वित्रप्तिमा जनाइएको छ ।

आठवर्ष अघि सुन्दरी प्रतियोगिता (मिस–टिन)को नाममा आयोजकले गरेको बलात्कार तथा यौनजन्य हिंसा तथा विद्यालय र कलेजमा छात्रामाथि भएका गम्भीर प्रकृतिका यौनजन्य घटनाहरु उजागर भैरहँदा वर्तमान सरकार भने निर्वाचनमा भएको अनियमितता र भ्रष्टाचारलाई लुकाउन जनतामाथि महङ्गी थोपर्न उद्दत रहेको आरोप लगाइएको छ ।

त्यसैले, बलात्कार तथा यौनजन्य हिंसाको सम्बन्धमा राखिएको हदम्याद हटाउन, कानुन संशोधन गर्न र हिंसा पीडितको संरक्षण र प्रभावितलाई तत्काल क्षतिपूर्तिसहित फास्ट ट्र¥याकबाट दोषीलाई कानुनी कारवाहीमा ल्याउनुपर्ने अनेमसंघले माग गरेको छ ।

अनेमसंघ म्याग्दीका अध्यक्ष यशुदा रोकाले हस्ताक्षर गरेको ज्ञापनपत्र तथा महिला अधिकार दिवसको बारेमा अनेमसंघका केन्द्रीय सदस्य एवं धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुनले स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा उक्त ज्ञापनपत्र अध्यक्ष रोकाले म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ शर्माले अनेमसंघले उठाएका माग जायज र सान्दर्भिक रहेको बताउँदै ज्ञापनपत्रलाई तुरुन्तै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply