म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिका-५ पुलाचौर पुरुण्डीमा निसुल्क आँखा शिविर सम्पन्न भएको छ । जेसिज सप्ताह कार्यक्रमको चौथो दिन जेसिज गाउँ पुलाचौरमा आयोजित निसुल्क आँखा शिविरमा ३०५ जनाले सेवा लिएको म्याग्दी जेसिजको कार्यकारी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिए ।


नेत्र ज्योती संघ म्याग्दीका नेत्र अधिृकत एवम् आँखाका डाक्टर दिनेश बानियाँले निसुल्क आँखा परिक्षण गराउनुभएको थियो । शिविरमा आखाका विभिन्न रोगको पहिचानपछि विरामीलाई निशुल्क औषधी, १०५ जनालाई चस्मा वितरण र मोतियाविन्दु पत्ता लागेका १० जनाको निशुल्क अप्रेशन समेत गराउने तयारी भएको उपाध्यक्ष बाँनियाले बताउनुभयो ।


म्याग्दी जेसिजको आयोजना र नेपाल रेडक्रस सोसाईटी पुलाचौर सह–आयोजनामा गाउँमै आँखा शिविर भएपछि बृद्धबृद्धा प्रौढ पुरुष र महिला, बालबालिकाले प्रभावकारी सेवा पाउँदा खुशी ब्यक्त गरेका थिए । जेसिजका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडानम्वर ५ का वडाअध्यक्ष गोविन्द बाँनियाले खेती किसानी ब्यस्त तथा आर्थिक अवस्था कमजोर परिवारका सदस्यलाई गाउँमै आयोजित शिविरले सहयोग पुगेको बताउदै आयोजक जेसिजलाई यस्तै कार्यक्रम निरन्तर गर्न आग्रह गर्नुभएको थियो ।

नेत्रज्योती संघका सभापति अमर बाँनियाले जेसीजले युवाहरुको नेतृत्व र क्षमता विकास संगै सामाजिक कार्यहरुमा गरेको योगदानप्रति प्रसंशा गर्नुभएको थियो । अध्यक्ष खत्रीले जेसिज गाउँ पुलाचौरमा आँखा शिविरसंगै अन्य शिविरहरु पनि आगामी दिन गर्ने प्रतिवद्धता जनाउदै जेसिज सप्ताह अन्तरगतको आयोजित शिविरमा सहयोग गर्नेलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रम संयोजक हरि भण्डारीको स्वागत, कोषाध्यक्ष सुमन बाँनियाको संचालनमा भएको कार्यक्रममा शिविरलाई सफल बनाउन जेसिजका सदस्य र स्थानीयले शिविरलाई ब्यवस्थापन गर्नुभएको थियो । जेसिज सप्ताह कार्यक्रम अन्तरगत पाँचौ दिन जेसिज सभाहलमा भाषणकला सम्वन्धी तालिम आयोजना गरिएको छ ।

Leave a Reply