म्याग्दीको मंगला गाउँपालिका-२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसमा प्राविधिक धारको कक्षा सञ्चालन गर्न सम्भाब्यता अध्ययन सुरु भएको छ । पश्चिम म्याग्दीको एक मात्रै क्याम्पसलाई सुचना र प्राविको क्षेत्रमा अब्बल बनाउने गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयबाट अनुमति लिने गरी अध्ययन सुरू गरेको हो ।

विश्वविद्यालयबाट सम्भाब्यता अध्ययन अनुगमन टोलीका संयोजक ज्ञयन्द्र कोइरालाको टोलीले भौतिक, शैक्षिक जनशक्ती, सेवा क्षेत्र लगायत विभिन्न मापदण्डको अनुगमन गरेको थियो । अनुगमन तथा छलफलमा विश्व विद्यालयका प्रतिनिधि कोइरालाले भौतिक सहित प्राविधिक शिक्षाका लागि क्याम्पस उपयुक्त भएकाले आवश्यक सहकार्य गरिने बताउनुभयो ।

‘प्रारम्भिक सम्भाब्यता अध्ययनमा सबै छलफल हुदैन,‘हामीले यहाँको अवस्थाका बारेमा थप छलफल गछौं, तपाईहरूसँग छिट्टै सहकार्यको अवसर प्राप्त हुन्छ’ कोइरालाले भन्नुभयो । सोही अवसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पश्चिम क्षेत्रबाट उच्च शिक्षाका लागि सदरमुकाम बेनी लगायत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न क्याम्पसले आयमुलक शैक्षिक गतिविधि सहित नियमित विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।

‘अब शैक्षिक गतिविधिमै क्याम्पस केन्द्रित हुन्छ,‘हामीलाई अनुमति मात्रै प्राप्त भएपछि बाँकी सबै सहज छ’ अध्यक्ष रोकाले भन्नुभयो । क्याम्पसले ६० प्रतिशत प्राविधिक र ४० प्रतिशत गैरप्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ। गण्डकी विश्वविद्यालयको टोलीलाई क्याम्पसका प्रमुख पतिमबहादुर खत्री, आर्थिक पूर्वाधार समितिकी संयोजक यसुदा रोका, वडाका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । क्याम्पसले अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्तीका लागि आवश्यक प्रक्रिया समेत अगाडी बढाएको छ ।

विश्वविद्यालयले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) प्रमाणपत्र प्राप्तीका लागी विभिन्न जिल्लामा पुगेर अध्ययन अवलोकन भ्रमण सहितको अनुवभ लिने तयारी समेत गरेको छ । क्याम्पस सञ्चालनका लागि पूर्वाधार आर्थिक सङ्कलन समिति गठन गरी ५ करोडको अक्षय कोषका लागि जुटेको छ । यसअगाडी क्याम्पसको नाममा सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी धमाधम पूर्वाधार विस्तार गरिरहेको छ ।

 

Leave a Reply