म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वर बजारमा जोगीको भेषमा रहेका एक ब्यक्तिले मदिराको सेवन गरी आतंक मच्चाउन थालेको गुनासो स्थानीयले गरेका छन् । प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आफूलाई धार्मिक सन्त बताउँदै आएका एक अपरिचित ब्यक्तिले मदिरा सेवन गदैं होहल्ला गर्ने, स्कुले विद्यार्थीलाई तर्साउने, अपशब्द बोल्ने गरेको प्रत्यक्षदर्शी प्रकाश शर्मा सुबेदीले बताउनुभयो ।

‘स्कुले विद्यार्थी भागभाग गर्छन,‘मानसिक सन्तुलन समेत गुमाएजस्तो देखिन्छ’ सुबेदीले भन्नुभयो । धार्मिकस्थल गलेश्वरधाममा आएको भन्दै नियमित मदिरा सेवन गर्ने, सार्वजनिक स्थानमा सुत्ने, आसपासबाट आवतजावत गर्नेलाई गाली गर्ने जस्ता गतिविधिका बारेमा पटकपटक गुनासो गरेपनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको भनाई छ ।

‘गलेश्वर र आसपासका क्षेत्रका क्षेत्रमा पुगेर मनपरी माग्ने, नदिए तल्लोस्तरको गाली गर्ने गर्छ,‘तत्काल ब्यवस्थापन गर्न प्रहरीलाई अनुरोध गछौं’ गलेश्वर आमा समुहकी गौमायाँ मगरले भन्नुभयो । गलेश्वर आसपासका क्षेत्रका बासिन्दाले तत्काल वडा कार्यालयमार्फत जिल्ला बाहिर पठाउने ब्यवस्था मिलाउन माग गरेका छन् । यता वडा कार्यालयबाट समेत आवश्यक समन्वय भइरहेको बताइएको छ । गलेश्वर मन्दिर आसपासमा आउने जोगीको पहिचान गरी आवश्यक ब्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ ।

Leave a Reply