स्थानीय सरकारको दोस्रो कार्यकालका लागि निर्वाचन पनि भर्खर सम्पन्न भएको छ । निर्वाचनमा जनताले मतादेशका साथ महत्वपूर्ण सन्देश दिएका छन् ।

म्याग्दी जिल्लामा चुनाव र कार्यपालिकाको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले विगतमा अपेक्षित काम गर्न नसकेको, जनताको भावनाको कदर नगरेको, आवश्यकतामुखी भन्दा पहुँच र निकटलाई सेवा दिएको जस्ता आरोपको सामाना गर्नुपरेको थियो । पहिलो कार्यकालमा म्याग्दीमा अपवादबाहेक व्यवहारमा अधिकांश जनप्रतिनिधिहरूमा जनताका गुनासा नै गुनासा थिए ।

पहिलो पाँच वर्षे कार्यकाल बिताएर बिदाइ हुँदै गर्दा जनप्रतिनिधिहरूको विभिन्न दृष्टिकोणबाट समीक्षा भइरहेका छन्।अहिले भएका समीक्षाले फेरि दोहोरिने जनप्रतिनिधिलाई काम गर्न सहज हुने र निर्वाचनबाट आएका नयाँ जनप्रतिनिधिलाई पनि काम गर्न सहज हुन्छ।

म्याग्दीमा दुई पालिका प्रमुख सहित वडा अध्यक्ष र सदस्यहरू दोहोरिएका छन् भने अधिकांस नयाँ अनुहारले नेतृत्व सम्हालेका छन्। निर्वाचनबाट सक्षम, योग्य, इमानदार व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने बहसका बिच चुनिएका जनप्रतिनिधिमा अवसर र चुनौती दुबै छन् ।

पहिलो पाँच वर्षे कार्यकालमा स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक तथा जनताको आवश्यकता रहेको क्षेत्रमा कस्तो काम भयो ? जनताले समेत मुल्याङ्कन गरेको अवस्थामा अव जनप्रतिनिधिले समेत आफ्नो जिम्मेबारीलाई ध्यान दिएर कार्यसम्पादन गर्नुपर्ने अवस्था छ । अब कुनै पनि बहानामा स्थानीय तहका जनप्रतिनिधिहरूलाई आफ्नो कमजोरी लुकाउने छुट छैन।

जनताले पनि चुनेर पठाई दियौँ भनेर ढुक्क भएर बस्नुहुँदैन। स्थानीय तहको क्षमता विशाल छ। विकास र समृद्धिको ढोका स्थानीय तहबाट नै खुल्ने भएकाले स्थानीय तहका जनप्रतिनिधि आफ्नो जिम्मेबारी पूरा गदैं जनताप्रति जवाफदेही बन्नुपर्छ। स्थानीय तह सञ्चालन गर्ने जनप्रतिनिधिहरूको जवाफदेहिताले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा पनि यसको प्रभाव पर्ने देखिन्छ ।

नगर, पालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूलाई प्रश्न सोध्ने वा उनीहरूले आफूले गरेका प्रतिबद्धताहरू कति कति पूरा भए, कति चालु अवस्थामा छन्,कति सकिए, किन सकिएनन् भनेर सोधखोज गर्नुपर्छ र उनीहरूले पनि जवाफ दिनु जरुरी छ। अब कुनै पनि बहाना देखाएर जनप्रतिनिधिहरू तर्किने छुट छैन। सुशासन स्थापनाका निम्ति जनप्रतिनिधिहरू उत्तरदायी र जिम्मेवारी हुन जरुरी छ ।

स्थानीय तहमा जनताको भोट तान्न लोकप्रिय कार्यक्रम कार्यान्वयन भएन भने त्यो कागजका रूपमा परिणत हुन्छ। जनप्रतिनिधिलाई पहिलो कार्यकालबाट विदाई भएकाहरुको कमजोरी, राम्रो अभ्यास सिक्ने र सोही अनुसार काम गर्ने अवसर जनप्रतिनिधिका काँधमा छ। अबका पाँच वर्ष खेर जान दिने छुट छैन। नत्र पछुताउनुको विकल्प हुन ेछैन।

 

 

Leave a Reply