पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी–तातोपानी ९ किलोमिटर खण्ड कालोपत्र गरिएको छ । कालोपत्रेसँगै यात्राको समय छोटिएको छ । ट्याक खुलेको १५ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानीसम्मको सडक कालोपत्रे भएपनि यातायात ब्यवसायीले कच्ची सडक सहर भाडा लिने गरेका छन् ।

कालोपत्रे सडकमा समेत कच्ची सडक सरह यात्रुबाट भाडा असुल्ने गरिएपनि नयाँ भाडा समायोजनका लागि सम्बन्धित निकायले चासो देखाएका छैनन् । बेनी–तातोपानी ९ किलोमिटर सडकसम्म यात्रा गरेको यातायात व्यवसायीले १ सय ४० भाडा लिने गरेका छन ।

कालोपत्रे भइसकेको अवस्थामा पटक–पटक इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले आफूखुसी मूल्य लिने गरेपछि यात्रु झनै ठगिने अवस्था बनेको छ । ‘कालोपत्रे सडकमा यात्रुले पूरानै भाडा तिरेर यात्रा गर्नुपरेको छ,‘सम्बन्धित निकालयले भाडा दर निधारण र अनुगमन आवश्यक छ’ यात्रु गोविन्द रिजालले भन्नुभयो ।

बेनी–तातोपानी र तातोपानी–बावियाचौरको सिमसम्म कालोपत्रे सडकमा तोकिए सरह भाडाको उचित निर्धारण नहुदाँ दैनिक यात्रु ठगिने गरेको उहाँको भनाई छ ।सडकखण्डमा गुड्ने बस, जिप, ट्याक्सीको भाडा निर्धारणका बिषयमा सर्वसाधारणले आवाज उठाउने गरेका छन् । कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीकै भनाई छ ।

त्यस्तै यात्रुले सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–२ सिमलचौरसम्म १ सय ६० र सिमसम्म १ सय ८० रुपैयाँ सम्म भाडा तिर्ने गरेका छन् । यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले कच्ची सडक सरह कालोपत्रेमा भाडा लिन नमिल्ने भएकाले यातायात व्यवस्थापन समितिले भाडा समायोजन गर्ने बताउनुभयो ।

‘गुनासो आउन थालेको छ,‘भाडा समायोजनका लागि बैठकमार्फत निर्णय गछौ’ प्रजिअ रानाले बेनीअनलाइनलाई भन्नुभयो । जिल्लाका यातायातसँग सम्बन्धित संघ–संस्थाको छलफलपछि भाडा समायोजन गरिने प्रजिअ रानाको भनाई छ । जिल्लाभरको भाडा समायोजन सहित कार्यान्वयनका लागि नियमित अनुगमनको आवश्यकता रहेको सरोकारवाला निकायको भनाई छ । समायोजन भएमा जिल्लाभरका प्रायः सबै स्थानको भाडा घट्ने अनुमान गरिएको छ ।

Leave a Reply