‘बाल स्वास्थ्य कार्यक्रम’ भन्ने मूल नारासहित स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा बालबालिकाहरुको स्वास्थ्य परीक्षण भएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य चेकजाँच एवं उपचार गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्वत अस्पतालका बालरोग विशेषज्ञ डाक्टर कुशल बरालले बयस्क मानिसभन्दा बालबालिकाहरुमा छिटो रोग लाग्ने भएकाले पूर्व सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु सबैभन्दा राम्रो उपाय भएको बताउँदै विभिन्न रोगहरुबाट बचाउनका लागि समय समयमा स्क्रिनिङ क्याम्पहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल बाल सङ्गठन म्याग्दीका कोषाध्यक्ष हरिप्रसाद पौडेलले आगामी दिनमा पनि म्याग्दी बालगृहमा स्क्रिनिङ क्याम्प जस्ता स्वास्थ्यसम्बन्धी गतिविधिहरु नियमित गरिदिन आग्रह गर्नुभयो । स्वास्थ्य परीक्षण कार्यक्रममा आवासीय सुविधासहित बालगृहमा बस्दै आएका १० जना बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा बालबालिकाको आँखा, दाँत, मुख र घाँटीको परीक्षणसहित बालरोगसँग सम्बन्धित सबैखाले रोगको परीक्षण गरिएको थियो भने सुआहारा कार्यक्रमको सहयोगमा बालबालिकाहरुको उचाई र तौल नापेर पोषणको अवस्था पत्ता लगाइएको थियो ।

स्क्रिनिङ क्याम्पमा बालरोग विशेषज्ञ डा. बरालसहित बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डा. गोविन्द पोखरेल, डेन्टल सर्जन डा. अस्मिता कटुवाल, हेल्ट असिस्टेन्ट कमल रावल, नेत्र सहायक सुनिता ढकाल र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले उपचार एवं परामर्श सेवा प्रदान गर्नुका साथै उचाई तथा तौलको नापजाँचसहित औषधी वितरण गर्नुभएको थियो ।

परीक्षणको क्रममा बालबालिकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यक्रम स्वास्थ्य कार्यालयका सिनियर अहेव अधिकृत सोमनाथ उपाध्यायको अध्यक्षता र परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply