बेनी नगरपालिकाले खेतीयोग्य जमिनभित्र रहेको अनावश्यक रुख कटान गर्ने भएको छ । खेतीयोग्य जमिन बाँझो र अनावश्यक रुखले झाँडीले भरिने क्रम बढेपछि उर्भरयोग्य जमिन जंगलमा परिणत हुनबाट जोगाउन रुख कटान गरिने नगरपालिकाले जनाएको छ ।

नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपमेयर ज्योति लामिछाने पौडेलले बाँझो जमिन सदुपयोग र खेती गरिरहेको जमिनमा पनि रुखविरुवा भरिएपछि पहिल्यजस्तो उत्पादन हुन छोडेको अवस्थामा रुख कटान छटान सम्बन्धि कार्यविधि बनाएर अगाडी बढ्ने निर्णय गरिएको बताउनुभयो ।

‘बनजंगल, झाँडीले भरिएको छ, यो समस्या समाधानको आवश्यकता थियो’ उपमेयर लामिछानेले भन्नुभयो । उर्भरभूमिमा धान, मकै, कोदो लगायतको रैथानीबाली लोप हुने अवस्थामा पुगेको अवस्थामा किसानको समस्यालाई मध्यनजर गरी कार्यविधिमार्फत समस्या समाधान गरिने नगरपालिकाले जनाएको छ। खेतीयोग्य जमिनमा टुनी, चिमल, मौवा, उत्तिस, बास लगायतको रुखविरुवा भरिएको छ । यसैबीच नगरप्रहरीका लागि समेत कार्यविधि बनाइने निर्णय भएको प्रबक्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

Leave a Reply