बेनी नगरकार्यपालिकाको पहिलो बैठकले लोकप्रिय कार्यक्रम सहित १६ निर्णय गरेको छ । सोमबार सम्पन्न भएको कार्यपालिकाको बैठकले विभिन्न ५ विषयगत समितिको गठन, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सुझाव पेश गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजश्वको स्रोत पहिचान, नगरपालिका भित्र सञ्चालित हुने योजनाहरुको अनुगमन, कर्मचारीको सेवासुविधा सहित कार्यसम्पादन, मजदुर डेक्स तथा कोष स्थापना, विपद्मा मेयर कार्यक्रम, आमा समुहलाई आयआर्जनमा जोड्ने आमा समुहसँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रबक्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नगरकार्यपालिकाको निर्णय कार्यान्वयनमा आइसकेको र आगामी आवदेखि कार्यान्वयन हुने कार्यक्रमहरुको तयारीका लागि समे निर्देशन दिइएको बताउनुभयो। नगरपालिकाले आगामी आवमा नगर प्रहरी भर्ना गर्ने गरी नगरप्रहरी सञ्चालन तथा ब्यवस्थापन कार्यविधि समेत बनाउने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा मेयर सुरत केसीले नगरपालिकाको सम्रग विकासका लागि सबै दलबाट प्रतिनिधित्व गर्नुभएका जनप्रतिनिधिको साझा प्रस्तावहरू कार्यान्वयन गरिने बताउनुभयो । उहाँले विषयगत समिति गठन सहितका अन्य प्रस्ताव सर्वसम्मतले पारित भएको बताउनुभयो ।

सोही अवसरमा उपमेयर ज्योति लामिछानेले आमा समुहका भवनलाई आयर्आजनसँग जोड्ने बताउनुभयो । उहाँले नगरपालिका भित्रका आमा समुहलाई उत्पादनमुखी योजनाहरूमा सहभागी गराउने बताउनुभयो । पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, अधिकृत कलम सुबेदीको उपस्थिती रहेको थियो ।

 

Leave a Reply