बेनी नगरपालिकामा आज (मङ्गलवार) एक कार्यक्रमबीच संस्थाबाट सञ्चालनमा रहेका कार्यक्रमको बारेमा सेयरिङ सम्पन्न भएको छ । युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रम तथा सामुदायिक झोलुङ्गे पुल कार्यक्रमको विषयमा सेयरिङ तथा जानकारी गराइएको हो ।

गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिसँग परिचयात्मक कार्यक्रमसहित जिल्लामा संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको मिलन म्याग्दीले जनाएको छ । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले सञ्चालित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी झोलुङ्गे पुलको प्राविधिक यामबहादुर विश्वकर्माले बेनी नगर क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका सामुदायिक झोलुङ्गे पुलको बारेमा पनि जानकारी गराउनुभएको थियो । सोही अवसरमा पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापनसहित सुआहारा कार्यक्रमको तर्फदेखि बधाई तथा शुभकामना–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले समुदायका महिला एवं बालबालिकाहरुको पोषण अवस्था सुधार गर्न र झोलुङ्गे पुल निर्माणको कार्यमा गैरसरकारी संस्थासँग आवश्यक सहकार्य गरिने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, प्रवक्ता रमेशकुमार श्रेष्ठ, बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, इन्जियिनर विमलरञ्जन कार्की, योजना अधिकृत प्रकाश सुवेदी, असिस्टेन्ट सव–इन्जिनियर चन्द्रबहादुर थापा, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापालगायत कार्यसमितिका पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो ।

यसअघि मिलन म्याग्दीको आयोजनामा मंगला गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा पनि संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीहरुको बीचमा सेयरिङ कार्यक्रम सम्पन्न भैसकेको छ । सन् २०१२ देखि म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको अहिले दोस्रो चरण सञ्चालनमा रहेको छ ।

Leave a Reply