म्याग्दीको बेनी नगरपालिका–३ चिनाखेतका मनबहादुर पुनको घरमा एक वर्षअघि नै मिटर र धारा जडान भएको थियो ।“पाइप ल्याएर मिटर र धारा जोडेपनि पानी आएको छैन”, उहाँले भन्नुभयो “इन्टेक, टङ्की, मुख्य र वितरण पाइपलाइन निर्माणले पूर्णता नपाउँदा खानेपानी योजना अलपत्र बनेको छ ।” मनबहादुर मात्र नभएर मिटर र धारा जोडेका चिनाखेतका ७६ घरधुरीको धाराबाट खानेपानी उपभोग गर्ने सपना पूरा भएको छैन ।

उनीहरुले पुरानो योजनाको सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका छन् । सार्वजनिक धाराबाट घरघरमा पानी लैजान व्यक्तिगत लगानीमा पाइप जोडेका छन् । पुरानो धारामा नियमित खानेपानी आउँदैन ।

धारामा पानी नआउँदा खोल्सा र कुँवाको पानी उपभोग गर्नुपर्ने चिनाखेतवासीले बताएका छन् । लागत अनुमान, डिजाइन र ठेक्का सम्झौतामा उल्लेख भएको गुणस्तर र मापदण्डअनुसार मुहान, टङ्की, पाइपलाइन निर्माण नभएकाले चिनाखेत खानेपानी आयोजना सफल नभएको स्थानीयवासीको भनाइ छ ।

बेनी नगरपालिकाले सङ्घीय सरकारको अनुदानमा आर्थिक वर्ष २०७७-७८ मा चिनाखेत खानेपानी योजना बनाउन सुन्दर निर्माण सेवासँग रु ५१ लाख ५४ हजार ४० मा ठेक्का सम्झौता गरेको थियो ।

७० लाख विनियोजन भएको योजना प्रतिस्पर्धाका क्रममा रु १८ लाखभन्दा बढी घटेर ठेक्का पारेको थियो । २० घनमिटर क्षमताको दुई वटा रिजर्भ टङ्की, तीन किलोमिटर मुख्य पाइपलाइन, मुहानमा दुई वटा इन्टेक बनाउने, मिटर र धारा वितरण गर्ने सम्झौता थियो । रिजर्भ टङ्कीदेखि आरविटीसम्म नौ किलोमिटर वितरण लाइन बनाएका छन् ।

“असार मसान्तमा हतार हतारमा काम गरेका थिए । कागजमा योजना सम्पन्न भएको भनिए पनि व्यवहारमा बनेको छैन”, स्थानीयवासी दीपक पुनले भन्नुभयो, “बनाउनुपर्ने ठाउँ र सङ्ख्यामा मुहानमा इन्टेक बनेको छैन ।

रिजर्भ टङ्कीमा अहिलेसम्म पानी नहालिनुमा त्यसको गुणस्तरमा प्रश्न उठेको छ ।” उहाँका अनुसार वितरण लाइनदेखि घरघरमा पानी पुर्याउने पाइप जडान गर्ने आरविटी हिलोले भरिएका छन् । निर्माण कार्यलाई पूर्णता नदिइ अधकल्चो बनाएर छाडिएको खानेपानी योजनाका संरचना प्रयोगमा आउन सकेको छैन ।

बेनी नगरपालिकाका इञ्जिनीयर बिमलरञ्जन कार्कीले डिजाइन, लागत अनुमान र ठेक्का सम्झौता अनुसार गरेको कामको मूल्याङ्कनको आधारमा भुक्तानी दिइएको र चालु आर्थिक वर्षमा बजेट विनियोजन नभएकाले बाँकी काम हुन नसकेको बताउनुभयो ।

अन्तिम नाप जाँचका क्रममा आयोजनामा पानी चलाएर परीक्षण गर्दा ठीक भएको उहाँको भनाइ छ । बेनपा–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले निर्माण व्यवसायी र प्राविधिकको कमजोरीले गर्दा चिनाखेत खानेपानी आयोजना अलपत्र बनेको बताउनुभयो ।

“घरघरमा खानेपानी वितरण गर्ने लक्ष्य र उद्देश्यले बजेट र योजना भित्र्याए पनि ठेक्कामार्फत कार्यान्वयन गर्दा प्रभावकारी हुन सकेन”, उहाँले भन्नुभयो, “यो योजनालाई आगामी वर्ष थप बजेट व्यवस्थापन गरेर पूर्णता दिने र सञ्चालन गर्न नगरपालिकामा छलफल चलाएको छु ।”–रासस

Leave a Reply