पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । विरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौंसम्म पैदल हिड्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भएपनि संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ ।

रुम वासीका दुःख र पीडाहरुमा मलम लागेको छ । गाउँमा सडक पुगेको छ । यो पाँच वर्षको अवधिमा रुमका सवै वस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ ।

घर आङ्गनबाटै रुम वासीहरु मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन् । घर घरमा खानेपानीको सुविधा पुग्यो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै वस्तीमा सडक पुगेको पूर्व वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो उहाँले भन्नुभयो ‘स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौं रकम भित्रिन थाल्यो । गाउँपालिकाका साथै संघ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्य लगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो ।’

पाँच वर्षे अवधिमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठ वटा अन्य सडकहरु निर्माण भएको उहाँले बताउनुभयो । गाउँका सवै वस्तीमा सडक पहुँच विस्तार भएको छ । पूर्व वडाध्यक्ष पुनले भन्नुभयो ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौति छ ।’ सडक स्तरोन्नती र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।

विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि पाँच वर्षको अवधिमा राम्रो विकास भएको उहाँले बताउनुभयो । विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन् ।

पाँच वर्षको अवधिमा विभिन्न स्थानमा गरेर पाँचवटा झोलुङ्गे पुलहरु निर्माण भएका छन् । जसले  स्थानीयवासीलाई आवत जावतमा सहजता मिलेको छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि रुम गाउँमा विकास भित्रिन थालेको स्थानीय युवा तारा रोकाले बताउनुभयो । गाउँमा सडक पुगेपछि दैनिक उपभोग्यवस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्यवस्तु पाउन थालेको बताउनुभयो ।

Leave a Reply