बेनी नगरपालिकाको ७ र ८ नं वडामा पर्ने जिल्ला सदरमुकाम बेनीबजारमा जडान गरिएको सडकबत्ती नबलेको एक हप्तायता बलेका छैनन् । बत्ती बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई प्राविधिकलाई दुई दिनसम्म परिचालन गर्यो । समस्या पहिचान हुन नसक्दा सडकबत्ती मर्मतमा ढिलाइ भएको बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

“ विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण त्यही पोलमा राखिएको सडकबत्तीको समस्या पहिचान गर्न सकिएको छैन”, उनले भने, “अव्यवस्थित तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै बजारको सौन्दर्यमा पनि असर परेको छ ।”

बेनी बजारका विद्युत्का पोलमा नेपाल टेलिकमका टेलिफोनका साथै निजी क्षेत्रका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको पनि तार तानिएको छ । वर्षौँ पुराना र काम नलाग्ने तार पोलबाट हटाइएको छैन । विद्युत्का पोल तारको गुजुल्टाले फेटा गुथाएजस्तो भएका छन् । जसका कारण विद्युत् पोलमा भार बढेको छ ।

सडकबत्ती मर्मतसँगै विद्युतका पोलमा राखिएका अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता देखिएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्राधिकरण र तार प्रयोग गरेर केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग छलफल गरेर आगामी असोज महिनाभित्र व्यवस्थापन गरिसक्ने योजना बनाएको उनले बताए ।

बेनी नगरपालिकाले बजारको सडक छेउमा रातको समयमा उज्यालो बनाउन सडकबत्ती जडान गरेको छ । बजारलाई सुरक्षित बनाउन, रातको समयमा हुने अपराध न्यूनीकरण र अनुसन्धानमा सघाउने उद्देश्यले सडकबत्ती जडान गरिएको हो । सडकबत्ती बल्न छाडेपछि सुरक्षा चुनौती बढेको बजारवासीले बताएका छन् ।

गत असोजमा नेपाल विद्युत् प्राधिकरणले सम्झौताबिनै विद्युत्का पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने अभियान थालेको थियो । तर केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको आन्दोलन र दबाबपछि प्राधिकरण पछि हटेको छ ।जिल्लामा दुई केबल टिभी र पाँचवटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन् । पोल प्रयोग गरेवापत ती कम्पनीले प्राधिकरणलाई प्रतिकिलोमिटरका दरले भाडा तिर्नुपर्ने नियम छ ।

Leave a Reply