बागलुङ । यहाँको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ ।गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ । अध्यक्ष घर्तीमगरले भन्नुभयो, “उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकाले नै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।”

गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाउने अध्यक्ष घर्तीमगरको भनाइ छ । उहाँले गाउँपालिकामा रहेका अपाङ्गता र ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत सङ्कलन गरी स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताउनुभयो । अध्यक्ष घर्तीमगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेसमेत निर्णय गरेको बताउनुभयो । गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पु¥याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन । अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्तीमगरको भनाइ छ ।

Leave a Reply