धुब्रसागर शर्मा÷ हरिकृष्ण गौतम 

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक÷शिक्षिकाहरु विद्यालयमा अध्ययनरत तीन जना असहाय र ११ जना अत्यन्त विपन्न परिवारका विद्यार्थीहरुको अवस्था देखेर चिन्तित हुनुहुन्छ ।

अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्था अत्यन्त दयनीय रहेको विद्यालयले जनाएको छ ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको हो ।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामीको अवस्था पनि मञ्जुको जस्तै रहेको छ ।
पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो ।

त्यस्तै कक्षा ४ मा अध्ययनरत सृष्टि विक बुबा र आमा दुवैले अर्को बिबाह गरेपछि आमा बुबा हुँदाहँुदै पनि असहाय बनेकी छन् । मंगला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता बिकले अर्को बिबाह गरेर अलग अलग भएपछि छोरी सृष्टिको विचल्ली भएको हो ।

यी तीन जना विद्यालयको असहाय प्रतिनिधि विद्यार्थीहरु मात्र हुन् । विद्यालयमा अध्ययनरत करिब ७७ जना विद्यार्थीहरु मध्ये १४ जना विद्यार्थीहरुको अवस्था अञ्जु,पुजन र सृष्टिको भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताउनुभयो । “विद्यालय आँफैपनि समस्याग्रस्त छ,आन्तरिक स्रोत केही छैन ।

त्यसमाथि १४÷१५ जना असहाय र अति विपन्न परिवारका विद्यार्थीहरु छन् । उनीहरु कहिले भोकै विद्यालयमा आउँछन्,सर मिसहरुले खानेकुरा किनेर खुवाउँछौं,कहिले विद्यालयको दिवा खाजाको भरमा ती विद्यार्थीहरुले दिन गुजार्न वाध्य हुन्छन्” प्रअ पुनले भन्नुभयो “उनीहरुको रुन्चे अनुहार र टिठलाग्दो पोशाक देख्दा साह्रै दुःख लाग्छ ।”

“बुबाको मृत्यु भएका,आमाले अर्कैसंग बिबाह गरी गएका साथै आमा र बुबा दुबैको माया नपाएका विद्यार्थीहरुलाई देख्दा कटक्क मन खान्छ” शिक्षिका घनदेवी घर्तीले भन्नुभयो “कोही मनकारी व्यक्तिहरुले उनीहरुलाई आश्रय दिए वा पढाइलेखाईको खर्च व्यहोरी दिए उनीहरुको भविष्य बन्ने थियो र सहयोगीलाई पनि ठूलो पुण्य मिल्ने थियो ।”

विद्यालयमा अध्ययनरत यस्ता असहाय र अति विपन्न बालबालिकाहरुलाई अध्यापनरत शिक्षक शिक्षिकाहरुले बुबाआमाको जस्तै माया दिएर पढाइरहनुभएको स्थानीयले बताएका छन् । शिक्षक शिक्षिकाहरुको माया र खाजा खाना पाइने लोभमा यी विद्यार्थीहरु दैनिकरुपमा विद्यालयमा आउँछन् ।

अझै दुःखको कुरा त के छ भने कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको वरण्डामा नै सुतेर रात विताउने गरेको मञ्जु स्वयंले बताउनुभयो । दाइ मजदुरी गर्नुपर्ने कामले कहिले कहाँ कहिले कहाँ पुग्नुपर्ने र उनी एक्लै हुँदा भोकभोकै बस्नु पर्ने समस्या छ ।

“विद्यार्थीहरु भोकै हुँदाको दिन विद्यालयका शिक्षक शिक्षिकाहरुले आफूले खाजा नखाएर भएपनि खाजामा खर्च हुने रकम ती भोका विद्यार्थीहरुलाई खानेकुरा किनेर खुवाउने गर्नुहुन्छ” विद्यालयका एक अभिभावकले भन्नुभयो “दुःखी,गरिब र असहायहरुलाई देश विदेशमा रहेका मनकारी व्यक्तिहरुले सहयोग गरेर त्यस्ता व्यक्तिहरुको उद्धार भएको छ,यहाँका यी असहाय बालबालिकाहरुलाई पनि कसैले सहयोग गरिदिए कति धर्म हुँदोहो ।”

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा पर्नुभएको हो ।

“सधैंभरी शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन,अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ” बगरफाँट स्थायी घर भै हाल काठमाण्डौं बस्नुहुने वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले भन्नुभयो ।

अहिले तत्काल ती विद्यार्थीहरुको व्यवस्थापनका लागि सहयोगी मन भएका व्यक्तिहरुको खोजी गरेर सहयोग जुटाउने र त्यस्ता विद्यार्थीलाई राख्नका लागि समुदाय र सहयोगी व्यक्तिहरुको पहलमा विद्यालयमा नै छात्रवासको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
यी असहाय विद्यार्थीहरुलाई सहयोग गर्न चाहनुहुने मनकारी व्यक्तिहरुले ९८४७६४९८६३ वा ९८६९०२००६१ मा सम्पर्क गर्नसक्नुहुने विद्यालयले जनाएको छ ।

Leave a Reply