म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगाएत स्टेशनरी र विद्यालय पोसाकका लागि अल्पकालीन सहयोग जुटेको छ ।

अरुले दिए मात्र खान पाउने नभए विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा आइतबार बेनी अनलाइन लगाएत विभिन्न संचारमाध्यममा ‘भोकभोकै विद्यालय जान्छन् आमाबाबु विहीन बालबालिका’ शीर्षकको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि ती बालबालिकाहरुलाई सोमबार तीनजना मनकारी व्यक्तिहरुले आर्थिक सहयोग गरेर खाद्यान्न लगाएतका आवश्यक सामाग्री जुटेको हो ।

दुई वर्ष अघि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको वर्षका १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले रु २१ हजार ५ सय बराबरको खाद्यान्न ती तिनजना बालबालिकाहरुलाई उपलव्ध गराएकी हुन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहनुभएकी रोका मगरले आवश्यक स्टेशनरी र विद्यालय पोशाक लगाएतका अन्य आवश्यकीय सामाग्रीका लागि थप रकम उपलव्ध गराउने बताएकी छन् ।

त्यसैगरी सिराहा नगरपालिका सिराहा घर भै हाल कतारमा कार्यरत डा.एम.आलमले रु २० हजार सहयोग गर्नुभएको छ भने काठमाण्डौंबाट नानीकिरण सुनुवारले रु ११ हजार सहयोग गरेका छन् ।

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको थियो ।

उनलाई एक महिनाका लागि स्थानीय बुद्धबीर चर्मकारले घरमा राख्ने र सहयोग दाताले दिएको खाद्यान्न पकाएर खुवाउने भएका छन् ।त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्री प्रदान गरिएको छ ।

पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिनुभयो । पुजनलाई खाद्यान्न जुटेपनि वस्नको लागि भने अझै टुंगो लाग्न सकेको छैन ।

त्यस्तै बुबा र आमा दुवैले अर्को बिबाह गरेपछि आमा बुबा हुँदाहँुदै पनि असहाय बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकलाई हजुरआमाले पाल्ने र खाद्यान्न विद्यालयले सहयोग जुटाएर उपलव्ध गराउने भएको छ । मंगला गाउँपालिकाको पूर्ण गाउँका बुबा सुनिल विक र आमा सविता बिकले अर्को बिबाह गरेर अलग अलग भएपछि छोरी सृष्टिको विचल्ली भएको हो।

विद्यालयमा अध्ययनरत करिब ७७ जना विद्यार्थीहरु मध्ये १४ जना विद्यार्थीहरुको अवस्था अञ्जु,पुजन र सृष्टिको भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक छेमप्रसाद गर्बुजा पुनले बताए ।

बुबाको मृत्यु भएका,आमाले अर्कैसंग बिबाह गरी गएका साथै आमा र बुबा दुबैको माया नपाएका विद्यार्थीहरुलाई देख्दा आँखाबाट आँशु आउने शिक्षिका घनदेवी घर्तीले बताइन् । अरु मनकारी व्यक्तिहरुले पनि उनीहरुको पढाइलेखाईको खर्च व्यहोरी दिए ती असहाय बालबालिकाहरुलाई ठूलो सहयोग हुने उनले बताइन् ।यस अघि कतै आश्रय नपाउँदा मञ्जुले विद्यालयको वरण्डामा नै सुतेर रात विताउने गरेको मञ्जु स्वयंले बताइन् ।

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा परेका हुन् ।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरुलाई आश्रय दिने विद्यालयको योजना रहेको छ । त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरुसंग सहयोगको आग्रह समेत गरेको छ ।
‘सधैंभरी शिक्षक शिक्षिकालाई मात्र समस्यामा पार्ने होइन,अब समुदायले पनि केही जिम्मेवारी लिनुपर्छ,अहिले तत्कालै दुईकोठे भवन बनाएर भए पनि उनीहरुलाई छात्रवासमा राख्ने प्रवन्ध गर्नुपर्छ’ बगरफाँट स्थायी घर भै हाल काठमाण्डौं बस्ने वरिष्ठ कृषि वैज्ञानिक डा. टीकाबहादुर कार्कीले भने ।

Leave a Reply