म्याग्दीको दुर्गम धबलागिरि गाउँपालिका ४ मुदीको खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका ७ खारादेखि खाम्लासम्म १० किलोमिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो ।

मुदीमा निर्माण हुने ५३ मेगावाट क्षमताको अपरम्याग्दी एक, ३७ मेगावाटको अपरम्याग्दी र ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावर लिमिटेडले संयुक्त रुपमा खारादेखि खाम्ला हुँदै मुदीको नुनथलासम्म सडक निर्माण गरेको छ । सडक निर्माण भएसँगै दुर्गम वस्ती नाउरा र खाम्लाबासीले सडक सुविधाको उपयोग गर्न पाएका छन् ।

जलविद्युत कम्पनीहरुले सडक निर्माण गरेपछि दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगराका स्थानीयवासीहरु लाभान्वित भएको धबलागिरि गाउँपालिकाका पूर्वपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । यस क्षेत्रमा निर्माण हुन लागेका जलविद्युत आयोजनालाई आफ्नो कार्यकालमा काम गर्ने वातावरण तयार पारिदिएका कारण दुर्गम भेगमा सडक विस्तार भएको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार खाम्लामा पुगेको सडक नाउरा हुँदै दुर्गम बगरादेखि धौलागिरि बेसक्याम्प जाने जेल्टुङ हुँदै दोभानसम्म पुग्नेछ । नाउरादेखि माथिको सडक अपरम्याग्दी र म्याग्दी हाइड्रोपावरले निर्माण गर्ने जलविद्युत कम्पनीले जनाएको छ । मुदीको जेल्टुङमा अपरम्याग्दी ५३ मेगावाट र दोभान भन्ने स्थानमा म्याग्दी हाइड्रोपावरले ५७ मेगावाट क्षमताको आयोजना निर्माण गर्ने भएका छन् ।

कडा चट्टाने भिर फुटाएर सडक निर्माण गर्नुपर्ने भएकाले अझै दुई तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । सो स्थानमा निर्माण हुने जलविद्युत कम्पनीका कारण जिल्लाको दुर्गम भेगमा रहेका वस्तीमा सडक सुविधाको पहुँच विस्तार भएको मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो ।

खाम्लामा पुगेको सडकलाई खिबाङसम्म लग्न पालिका र प्रदेश सरकार गरी एक करोड ३३ लाख रुपियाँले सडक खन्ने काम भएको उहाँले बताउनुभयो । कडा खालको भिर भएकाले खिबाङसम्म सडक लग्न थप बजेट लाग्ने वडाध्यक्ष घर्तीले बताउनुभयो । Gorkhapatra

Leave a Reply