म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडने बेनी–मालढुंगा सडक शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मालढुङ्गा-बेनी सडक निर्माणको कामलाई गति दिन असार ३ गतेदेखि ३२ गते सम्म दैनिक चारघण्टा गाडीको आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो ।

एम्बुलेन्स र बिरामी बोकेका तथा विकास निर्माणका अत्यावश्यक गाडीलाई भने सहजीकरण गरी चल्न दिइने प्रमुख प्रजापतिको भनाई छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी चलाउन रोकिएको छ ।

कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ।

मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोर अन्तर्गत पर्छ । २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा काम गरिरहेको छ ।

यसैबीच बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बाग्लुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । पर्वतको मालढुङ्गा, हुँदै बागलुङ बजार, म्याग्दीको रत्नेचौरको वैकल्पिक मार्ग बर्खाको समयमा भने बाढीपहिरोले अवरुद्ध गर्ने भएकाले नियमित मर्मत तथा सरसफाईको आवश्यकता रहेको छ ।

 

Leave a Reply