सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका-८, स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण गरिएको छ ।
संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको कोतघरको पुर्ननिर्माण गरिएपछि चिटिक्क बनेको हो । बाइसेचौबिसे मल्ल राजाको पालामा निर्माण भएको कोतघर पुरानो भएर जिर्ण बनेपछिबेनी नगरपालिकाले पुरानै स्वरुपमा कोतघरको पुनःनिर्माण गरेको हो ।

कोतघरको पुनःनिर्माण र आसपासको क्षेत्रलाई संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य लिइएको वडा ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको पर्यटन पूर्वाधारतर्फको ८ लाख रपियाँमा कोत घरको पुनःनिर्माण थालिएको र बाँकी अपुग रकम चन्दा, सहयोग जुटाएर निर्माण गरिएको थियो भने सम्पूर्ण निर्माण कार्यका लागि १५ लाख खर्च हुने अनुमान गरिएको छ। तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको थियो ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो । ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने (टक्सार) बनाएका थिए । बेनीको ऐतिहासिक धरोहर मानिने कोतमन्दिरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ ।

Leave a Reply