---Advertisement---

धौलागिरी अस्पतालमा सिटिस्क्यान खरिदका लागि १० करोड बजेट

On: June 17, 2022 2:51 PM
Follow Us:

गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताल बगालुङमा सिटिस्क्यान सेवा प्रदान गर्नका लागि बजेट व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशसभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९\०८० को बजेट प्रस्तुत गर्दे धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि १० करोड बजेट बिनियोजन गरेको जानकारी गराएका हुन् ।

बरालले धौलागिरी अस्पतालमा सिटिस्क्यान सेवाका लागि उपकरण खरिदका लागि उक्त बजेट व्यवस्थापन गरिएको बताए। गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई गण्डकी उप–प्रादेशिक अस्पतालका रुपमा विकास गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गर्दै प्राथमिकताका साथ स्वस्थ्य सेवाको गुणस्तर थप गर्दै आएको छ ।

अस्पताललाई हाल २ सय शैयाको अस्पताल बनाउनका लागि प्रदेशले उपकरण र पूर्वाधारमा सहयोग गर्दै आएको छ । अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि समेत गण्डकी प्रदेश र संघीय सरकारले सहयोग गरेको थियो ।

अस्पतालमा सिटि स्क्यान सेवा भएमा ब्रेन स्टोकका बिरामी, दुर्घटनामा टाउकोमा चोटपटक लागेकालाई तत्कालै सिटिस्क्यान गरेर प्रभावकारी उपचार गर्न सकिने धौलागिरी अस्पताल बागलुङका प्रमुख सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिए ।