पर्वतको जलजला गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनबाट विजय भएका जनप्रतिनिधिको आन्तरिक हानथाप र असहमतिका बीच आमने-सामने भएका छन् । जलजला गाउँकार्यपालिकाको बैठक चलिरहेको बेला आफूँ अनुकुल निर्णय गर्न नभएको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको निर्णय पुस्तिका खोसेर भागेपछि जनप्रतिनिधि बिच आरोप–प्रत्यारोपमा उत्रिरहेका छन् ।

गाउँ कार्यपालिकाको शनिबार बसेको तेस्रो बैठकमा निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लुटेर भागेकी थिईन् । बैठक चल्दाचल्दै निर्णयपुस्तिका लिएर भागेपछि राती १० बजे बैठक स्थगित गरिएको भएको जनाइएको छ ।

दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानुनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा बिषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले नोट अफ डिसेन्ट लेख्ने भन्दै बैठक पुस्तिका मागेर मोटरसाइकलमा दौडिएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए ।

‘चुनावको जित हारको मानसिकता त्याग्न नसकेको अवस्था देखिएको छ,‘सहमति र सहकार्यबाटै गाउँपालिका बनाउन सकिन्छ’ एक कार्यपालिका सदस्यले भने । गाउँपालिकाको कानुनअनुसार बिषयगत समिति गठन गर्दा सर्बसहमतिमा निर्णय गर्ने र सहमति नभएमा अध्यक्षले बिषयगत समिति गठन गर्नसक्ने ब्यवस्था रहेको गठबन्धनका जनप्रतिनिधिको भनाई छ ।

गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले बिषयगत समिति तोक्नसक्ने उल्लेख छ ।

सोही कानुनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपत् र पूर्वाधार गरी चार वटा बिषयगत समितिको घोषणा गरेका थिए ।

आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपत्मा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए ।

अध्यक्षले बिषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन् ।गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानुनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए ।

‘छ वटा बिषयगत समितिमध्ये तीन वटा रोज्नुस् भन्दा उहाँहरु मान्नुभएन, हामीले तीन वटा गठबन्धनलाई, तीन वटा एमालेलाई भनेकै हुँ, उहाँहरुको नियत नै काम गर्न नदिने, अल्झाएर राख्ने भएपछि निर्णय गरेको हुँ’ अध्यक्ष आचार्यले भने। प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले आइतबार कार्यालय समयावधिसम्म निर्णयपुस्तिका ल्याउन आग्रह गरेपनि अहिलेसम्म फिर्ता नल्याएको बताए ।

यता नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले बहुमतको कदर नभएपछि उठेर हिँडेको भएपनि निर्णयपुस्तिकाका बिषयमा थाहा नै नभएको बताएका छन् । ‘बैठक भएको थियो, हामीले रोजेका समितिका संयोजक दिइएन र बहुमतको कदर पनि भएन, त्यसैले हामी उठेर हिँडेका हौ, माइन्युटको बिषयमा कुनै थाहा भएन’ एक कार्यपालिका सदस्यले भने ।

गाउँपालिकाको निर्वाचनपछि नेकपा एमाले र सत्ता गठबन्धन बिचको असहज गतिविधिले कर्मचारीलाई समेत समस्या भएको छ । जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन् । गाउँपालिकाका प्रवक्ता हरिविकाश जिसीले एक विज्ञप्ती जारी गर्दै बैठकबाट निर्णय पुस्तिका लिएर भाग्नु कायरताको पराकाष्ठा भएको भन्दै खेद प्रकट गरेका छन् ।

Leave a Reply