पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ। शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

उपाध्यक्ष खत्रीले चालुतर्फ २७ करोड ७९ लाख ७० हजार ( ६५.६५ ) प्रतिशत र पुँजीगततर्फ १४ करोड ५५ लाख ( ३४.३५) प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २० करोड ९९ लाख विनियोजन भएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ १० करोड ६७ लाख, आर्थिक विकासतर्फ २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड २७ लाख ७० हजार बजेट विनियोजन भएको छ । पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नतीलाई उच्च प्राथमिकतामा राख्दै सिम कोत्रावाङ, खुम्लिया, पैँयुपाटा, कुँहु, खधेरीखोला, पूर्णगाउँ, टोड्के नमूना सडक निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यस्तै तोराखेत, सल्यान, हिडी सडकलाई ५० लाख, पखेर, पिङ्गे हाँसे डाँडा सडक निर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । भाडामा बस्दै आएको गाउँपालिकाले आफ्नै भबन बनाउन जग्गा खरिद तथा व्यवस्थापनका लागि २ करोड विनियोजन भएको छ । सामाजिक विकासतर्फ विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि १७ करोड ४९ लाख विनियोजन भएको छ ।

सिंचाई तथा खानेपानीका लागि रु ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि र कृषक संग सम्वन्धीत कार्यक्रमका लागि १ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ । यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक बर्ष २०७९÷०८० का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले शुक्रबारनै पारित गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो ।

गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको छ । गाउँसभाले उपाध्यक्ष खत्री संयोजक रहेको न्यायिक समिति र लेखा समिति, वडा नम्वर १ का अध्यक्ष एकजित रोका संयोजक रहेको विधायन समिति र वडा नम्वर ५ का अध्यक्ष भुपेन्द्र खत्री संयोजक रहेको सुशासन समिति पनि निर्माण गरेको अधिकृत ढुंगानाले बताउनुभयो । गाउँसभा पालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रदेश सभा सदस्य नरदेवि पुनको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख दिलकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply