‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ चर्चित यो गीतका हरफमा भनिएझैं जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको सदरमुकाम बेनीबजार । म्याग्दी नदी र कालीगण्डकीको संगमस्थलमा अवस्थित बेनी बजार प्राकृतिक सुन्दरताले मात्रै होइन, ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।

इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । यो तस्वीर विसं २०२२ सालमा अमेरिकाबाट आएको एक स्वास्थ्यकर्मी तथा विकास निर्माणसँग सम्बन्धित परियोजनामा संलग्नले खिचेको हो ।

विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजार तत्कालीन समयमा भोट तिब्बत र मधेशको प्रमुख व्यापारिक नाका समेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ ।

विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ।
इतिहासकारका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो ।

राजा दिलिपबम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठाना र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिंगा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुन्छ ।

Photo:Herb Koplowitz

पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरूलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।

उनका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्य बजार पारीबेनी थियो । बाग्लुङ मुस्ताङतिरको थोक बजार पारीबेनी नै थियो। बेनीमा स्कुल पाठशाला नखुल्दै पारीबेनीमा मिडिल स्कुल थियो ।

त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारीबेनीको स्कुल मल्लाज उक्लेपछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो ।बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको थियो । बेनी नगरपालिकाका ७ र ८ गरी दुईवटा वडामा समेटिएको बेनी बजार ५१२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply