म्याग्दीको बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । असार ८ गते प्रदेश खेलकुद परिषद् गण्डकीको पत्रानुसार असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएकोले सो अघिनै जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थालेको हो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको अध्यक्षतामा बसेको बैठकले यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष केसीका अनुसार प्रतियोगिता सञ्चालनलाई चुस्त बनाउनका लागि विभिन्न उपसमितिहरु समेत बनाइएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका लागि खेलकुद विकास समितिका सचिव तारामान रोकाको संयोजकत्वमा सचिवालय उपसमिति, सदस्य कविता रोका तथा सिर्जना पाइजा र जिल्ला भलिवल संघ सदस्य रहेको छात्रा भलिवल सञ्चालन उपसमिति चयन गरिएको छ ।

त्यस्तै छात्र भलिबलका लागि सविस चोखाल, कुमार किसान र भलिबल संघको संयोजन रहनेगरि उपसमिति गठन गरिएको छ । एथलेटिक्स खेल सञ्चालनका लागि बाबुराम चोखाल, आशा रोका, विनोध घर्ती, दिपेन राई, श्यामबहादुर रोका रहेको एथलेटिक्स व्यवस्थापन उपसमिति गठन गरिएको अध्यक्षा केसीले जानकारी दिनुभयो ।

कवड्डी प्रतियोगिता सञ्चालनका लागि राजकुमार परियार, साजन फगामी र सन्तोष परियार रहेको उपसमिति गठन भएको छ । त्यस्तै मार्सल आर्ट प्रतियोगितालाई व्यवस्थीत गर्नका लागि जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक कर्ण प्रधानको संयोजकत्वमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि बाबुराम चोखाल, कराते संघका प्रतिनिधि सुमन बानियाँ, उसु संघका प्रतिनिधि आशा रोका र सुशिल श्रेष्ठ रहेको उपसमिति गठन गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके बमोजिमका सबै खेलकुदहरु प्रतियोगितामा समावेस गरिने पनि अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।

Leave a Reply