‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नारासहित आज (बुधवार) म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

बेनपा–४, सिङ्गास्थित आङ्गेबगरमा आयोजित कार्यक्रमको धान रोपेर उद्घाटन गर्र्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कृषकहरुलाई कृषि उत्पादनमा जोडौं र जग्गा बाँझो नराखौं भन्ने धान दिवसको उद्देश्य रहेको बताउनुभयो । उहाँले खाली तथा बाँझो रहेका जग्गा जमिनको प्रयोग गरेर कृषि उत्पादन बढाउनुपर्ने भन्ँदै नगरपालिकामार्फत कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो ।

सोही कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आर्थिक समृद्धि हासिल गर्नका लागि गाउँघरमा त्यत्तिकै खेर गएको जग्गामा आधुनिक प्रणाली अपनाई कृषि खेती गरेर व्यावसायिक बन्नुपर्ने बताउनुभयो । उहाँले धानलगायत खाद्यान्न बालीको साथै रैथाने बालीको संरक्षण गरी उत्पादन बढाउनका लागि युवाहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कृषकलाई प्रोत्साहन गर्न र उनीहरुको मनोबल बढाउनका लागि धान दिवस कार्यक्रमले सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय कृषकहरुसँगै नगरपालिका र वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुले पनि धान रोपेका थिए । सोही अवसरमा एकापसमा हिलो छ्यापछ्याप गरेर धान दिवस मनाउनुका साथै रमाइलो पनि गरिएको थियो । कार्यक्रममा नवजागरण महिला नौमती बाजा समूह बेनपा–४, राक्सेका महिलाहरुले बाजा बजाएर थप रौनकता थपिदिएका थिए । बेनी नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार १९औं राष्ट्रिय धान दिवस मनाउने कार्यक्रमअन्तर्गत कृषकहरुसँग हातेमालो गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको कृषि शाखाका प्रमुख आकृति ढुङ्गानाले जानकारी दिनुभयो ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि मनाउने गरिएको छ । यसैबीच १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर रघुगंगा गाउँपालिका कृषि शाखाको आयोजनामा पनि दिवस मनाइएको छ । रघुगंगा–३, मौवाफाँटको बरबोट कृषक समूह, देउराली कृषि समूह र मौवाफाँट प्रगतिशिल कृषक समूहसँग समन्वय र सहकार्य गरी राष्ट्रिय धान दिवस मनाइएको रघुगंगा गाउँपालिकाको कृषि शाखा प्रमुख सविना शर्माले बताउनुभयो । म्याग्दीमा यसवर्ष असार १५ सकिनै लाग्दा जिल्लाभर जम्मा २५ प्रतिशत रोपाइँ भएको छ ।

म्याग्दीमा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय ९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कुल ३ हजार ८ सय ८५ हेक्टरको जमिनमा धान खेती हुँदै आएकोमा गतवर्ष १३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने ४ हजार ३ सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।

Leave a Reply